काठमाडौँ, जेठ २३ गते।
नेपाल सुटिङ सङ्घको आयोजनामा २६ औँ महिला तथा २७ औँ पुरुष सुटिङ प्रतियोगिता आजदेखि सुरु भएको छ।
शनिबार एक कार्यक्रमबिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहेता, नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठ लगायतले कार्यक्रमको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा पारा सुटिङका अध्यक्ष ओमनाथ सिवाकोटी, काठमाडौँ जिल्ला सुटिङ सङ्घका उपाध्यक्ष शैलेन्द्रमान श्रेष्ठ, ललितपुर जिल्ला सङ्घका उपाध्यक्ष गणेश आर्चाय लगायतको सहभागिता रहेको थियो ।
तीन दिन चल्ने च्याम्पियनसिपमा सात प्रदेश र ३ विभागीय गरी १० टिमको सहभागिता हुनेछ । च्याम्पियनसिपमा ८० खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।
प्रतियोगिताले नेपाली सुटिङ खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा राष्ट्रिय स्तरमा नयाँ प्रतिभाको पहिचान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको सङ्घले जनाएको छ।
