असार ३ मा ‘रामारोशन स्काई रन–२०२६’

काठमाडौं जेठ १९ गते ।

नेपाल एडभेन्चर रनिङ महासंघले आगामी असार ३ गते सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र अछाममा ‘रामारोशन स्काई रन–२०२६’ आयोजना गर्ने भएको छ ।

प्रतियोगिताअन्तर्गत २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुनेछ भने स्थानीय युवालाई प्रोत्साहन गर्न २० वर्षमुनिका लागि पाँच किलोमिटर सामुदायिक दौडसमेत समावेश गरिएको छ ।

२८ किलोमिटरको स्काई रनिङ मार्ग दुई हजार एक सय ५० मिटर उचाइको रामेखण्डबाट सुरु भई जिङ्गाले ताल, लामादह ताल, रोशन पाटन, तीन हजार आठ सय २० मिटर उचाइमा रहेको चाँखाटप र किनिमिनिपाटन लगायतका प्रमुख प्राकृतिक स्थल पार गर्दै रामेखण्डमै पुगेर टुंगिनेछ ।

प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख ५२ हजार रुपैयाँ रहेको छ । २८ किलोमिटर स्काई रनिङ च्यालेन्ज अन्तर्गत पुरुष तथा महिला दुवै विधामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धावकले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

शीर्ष १० स्थान हासिल गर्ने धावकलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । स्थानीय प्रतिभा प्रोत्साहनका लागि आयोजना गरिने पाँच किलोमिटर सामुदायिक दौडतर्फ पुरुष तथा महिला दुवै विधाका शीर्ष तीन विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिकासँगको सहकार्यमा हुन लागेको स्काई रनको मुख्य उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद, पर्यटन र स्थानीय संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको महासंघले जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ