नेपाल ‘ए’ लाई स्वर्ण, व्यक्तिगतर्फ सदभाव शीर्षस्थानमा

काठमाडौं, जेठ १४ गते ।

१२ औं नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा नेपाल ‘ए’ टिम स्पर्धाम स्वर्ण पदक जित्न सफल भएको छ। साबिक विजेता सदभाव आचार्य र राहुल विश्वकर्माको जोडीले १३-अन्डर २ सय ७५ को उत्कृष्ट स्कोरमा भारतको तरूण सरदेशाई एकेडेमीलाई १९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि रक्षा गरेका हो।

भारतको तरूण सरदेशाई एकेडेमी दोस्रो भयो। प्रीन्स बैंन्सला र भीभान उभायाकारको जोडीले ६-ओभर २ सय ९४ को स्कोर बनाए। श्रीलंका तेस्रो भयो। के दानुसा र चनाका परेराको जोडीले ८-ओभर २ सय ९६ स्कोर गरे। त्यस्तै भुटान चौथो,बङ्गलादेश पाँचौं र नेपाल ‘बी’ छैटौं भए।

पुरूष व्यक्तितर्फ नेपालका सदभाव आचार्य बोगी फ्री ६-अन्डर ६६ को कार्ड बनाउँदै समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा शीर्षस्थानमा रहन सफल भए। उनले राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पारेका छन्।

राहुले आज ५-अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ४-अन्डर १ सय ४० सहित दोस्रो स्थानमा रहे। भारतका भीभान उभायाकार समग्रमा ३-अन्डर १ सय ४१ सहित तेस्रो स्थानमा छन्। उनले आज ३-अन्डर ६९ मा खेल सकाए।

भारतका निखिल पाण्डे समग्रमा २- अन्डर १ सय ४२ को स्कोर‌मा चौथो स्थानमा छन्। उनले आज १-ओभर ७३ को कार्ड बनाए। ४-ओभर ७६ को स्कोर सहित समग्रमा १-ओभर १ सय ४५ सहित श्रीलंकाज्का के दानुसा पाचौं स्थानमा छन्। भुटानका डेचेन लेन्डुपले २-ओभर ७४ सहित समग्रमा २-ओभर १ सय ४६ को स्कोर‌मा छैटौं स्थानमा रहे।

समग्रमा ३-ओभर १ सय ४७ को नतिजामा भारतका निलोफर शिवमुर्ती, नेपालका तेन्जिङ छिरिङ र नोर्बु छिरिङ शेर्पा तथा बङ्गलादेशका मोहम्मद सरिफले संयुक्तरुपमा सातौं स्थान बाँडे। आज निलोफोर, तेन्जिङ र नोर्बुले १-ओभर ७३ मा तथा मोहम्मदले २-ओभर ७४ मा खेल सकाए।

बोगी रहित स्कोरकार्ड बनाएका सदभावले फ्रन्ट र ब्याक दुवै ३-अन्डर ३३ मा सकाए। उनले पहिलो तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे। यसपछि १२ औं, १५ औं र १८ औं होलमा पनि एक-एक सट बचाए।

राहुले दोस्रो होलमा बोगी खेपे। तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन १-अन्डर ३५ खेले। ब्याक नाइनमा उत्कृष्ट प्रदर्शनका साथ १० औं, ११ औं, १४ औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गरे। ब्याक नाइनमा ४-अन्डर ३२ को उत्कृष्ट प्रदर्शन गरे।

भीभानले फ्रन्ट नाइन इभन-पार ३६ खेले। पहिलो, तेस्रो र चौथो होलमा बर्डी प्रहार गर्दा दोस्रो, सातौं र आठौं होलमा एक-एक सट खेर फाले। यसपछि १० औं, ११ औं र १८ औं होलको बर्डीले ब्याक नाइन ३-अन्डर ३३ मा सकाए।

३६ होलको समाप्तीमा पुरूषतर्फ २१-ओभर १ सय ६५ स्कोर गरेका कुल ३१ खेलाडीले कट बनाएका छन्।

महिलातर्फ तारा कार्की चित्रकार समग्रमा १३-ओभर १ सय ५७ सहित शीर्षस्थानमा रहिन्। उनले आज ९-ओभर ८१ को प्रदर्शन गरिन्। उनले अन्तिम १८ होलको खेल बाँकी छँदा ‌सम्झना खत्रीलाई १४ स्ट्रोकले पछि पारेकी छिन्।

१४-ओभर ८६ सहित समग्रमा २७-ओभर २ सय ७१ सहित सम्झना दोस्रो स्थानमा छिन्। अभानी राईले २१-ओभर ९३ को प्रदर्शन गर्दा समग्रमा ३० ओभर १ सय ७४ सहित तेस्रो स्थानमा रहिन्।

महिलातर्फ भारतकी नयोनिका कपुर तथा नेपालका सुष्मा सिग्देल र अन्जीला योन्जनले पनि कट बनाए।

यु-१७ तर्फ भारतका भीभान उभायाकारले समग्रमा ३-अन्डर १ सय ४१ सहित ६ स्ट्रोकको अग्रता बनाएका छन्। उनले आज ३-अन्डर ६९ मा खेल सकाए। भारतकै निलोफर शिवमुर्ती समग्रमा ३-ओभर १ सय ४७ सहित दोस्रो स्थानमा छन्। उनले आज १-ओभर ७३ को कार्ड बनाए। भारत कै प्रिन्स बैंन्सला ९-ओभर १ सय ५३ को स्कोरमा तेस्रो स्थानमा रहे। उनले दोस्रो दिनको खेल ४-ओभर ७६ मा पुरा गरे।

प्रतियोगिता आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, आरएण्डए, वागमती प्रदेश खेलकुद विकास बोर्ड, सूर्य नेपाल प्रालि, सिटी एक्सप्रेस मनि ट्रान्सफर, होटल रोयल सिंगी, एक्सट्रीम इनर्जी ड्रिंक्स, सिटिजन लाईफ इन्स्योरेन्स, सिटिजन बैंक र शिखर इन्स्योरेन्सले सहयोग गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ