काठमाडौं जेठ ११ गते ।
सिन्धुलीका दीप थिङलाई दोहोरो उपाधि चुमाउँदै ‘जननायक बीपी कोइराला बागमती प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ ।
दीपले पुरुष एकल र यू–१५ तर्फको उपाधि जिते । उनले पुरुष एकलतर्फको फाइनलमा काठमाडौँका सक्षम ढकाललाई पराजित गरे ।
बसुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीमा भएको उक्त स्पर्धामा ललितपुरका सशिन डंगोल र सुमन शाक्य संयुक्त रुपमा तेस्रो भए ।
यसैगरी, दीपले यू–१५ तर्फको उपाधि पनि जिते । उक्त स्पर्धाको फाइनलमा उनले ललितपुरका रिजन मगरलाई पराजित गरे ।
उक्त स्पर्धामा चन्द्रागिरीका बिप्लव खड्का र कीर्तिपुरका समानता भद्र बज्राचार्यले संयुक्त रुपमा तेस्रो स्थान हासिल गरे ।
यसैगरी, सिनियर (५० वर्षमाथि) डबल्सतर्फको उपाधि काठमाडौँका प्रेम घले र सुवाष श्रेष्ठको जोडीले जित्यो । उक्त जोडीले फाइनलमा काठमाडौँकै सांगे शेर्पा र सूर्य स्याङ्तानको जोडीलाई पराजित ग¥यो ।
उक्त स्पर्धामा ललितपुरका श्याम गुरुङ र देवानसिंह राई तथा काठमाडौँका सुनिल बज्राचार्य र विकाश शाक्यको जोडी संयुक्त रुपमा तेस्रो भए ।
यसैगरी, जुनियर यू–१३ गल्र्सतर्फको उपाधि काठमाडौँकी अजारेन्का शेरचनले जितिन् । उनले फाइनलमा रामेछापकी अश्रुती कार्कीलाई हराइन् । उक्त स्पर्धामा काठमाडौंकी खुश्बु थापा मगर र सुजाता मगर संयुक्त रुपमा तेस्रो भए ।
यसैगरी, पुरुष डबल्सतर्फको उपाधि सिन्धुलीका सनम खपाङ्गी र धादिङका लक्ष्मण मल्ल ठकुरीको जोडीले जित्यो । उक्त जोडीले फाइनलमा धादिङका इश्वर थापा मगर र राम मल्ल ठकुरीको जोडीलाई हरायो ।
उक्त स्पर्धामा चितवनका विधान गुरुङ र भक्तपुरका रेसोद सुवाल तथा ललितपुरका सशिन डंगोल र भुवन श्रेष्ठको जोडी संयुक्त रुपमा तेस्रो भए ।
जननायक बीपी कोइराला स्मृति ट्रस्ट काठमाडौंद्वारा आयोजित प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक समारोहबीच पुरस्कार वितरण गरियो ।
विजयी खेलाडीलाई बीपी कोइराला स्मृति ट्रस्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुली, ट्रस्टका महासचिव एवं पूर्व संविधानसभा सदस्य रामचन्द्र पोख्रेललगायतले पुरस्कार वितरण गरे ।
आयोजक संस्थाका निर्देशक पराजुलीले बीपी कोइराला स्मृति ट्रस्टले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यो प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगितामा १३ जिल्लाका एक सय २० जना खेलाडी सहभागी थिए । प्रतियोगिताको मिडिया पार्टनरका रूपमा लोकान्तर डटकम रहेको थियो ।
