काठमाडौँ, जेठ १० गते ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र ग्लोबल आईएमइ बैंक १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलमा आइतबार च्याम्पियन बनेका छन् । नागरिक उड्डयन पुरुष तथा ग्लोबल आईएमइ महिलामा पहिलो भए ।
कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको पुरुष फाइनलमा नागरिक उड्डयनले डिफेन्डिङ च्याम्पियन कृषि विकास बैंक लिमिटेडलाई ६–१ गोलले पराजित ग¥यो । नागरिकका महेश शाहले ४ तथा बसन्त नगरकोटीले २ गोल गरे ।
महिलाको उपाधि भिडन्तमा ग्लोबल आईएमइले लुम्बिनी विकास बैंकलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । ग्लोबल पहिलो सहभागितामै उपाधि जित्न सफल भएको हो ।
पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार प्राप्त गरे । महिलामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाए ।
पुरुषमा कृषिका राजकुमार निरौला उत्कृष्ट खेलाडी, नागरिक उड्डयनका संकित रेग्मी उत्कृष्ट गोलरक्षक तथा नागरिक उड्डयनकै महेश शाह (१० गोल) सर्वाधिक गोलकर्ता भए । महिलामा लुम्बिनीकी दिब्या विष्ट उत्कृष्ट खेलाडीका साथै सर्वाधिक गोलकर्ता बनिन् । प्रतियोगिताभर दिब्याले ११ गोल गरिन् । ग्लोबल आईएमइकी केशमाया गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भइन् ।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) द्वारा आयोजित प्रतियोगितामा फुटसलसहित ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल गरी ४ खेलमा १४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
ब्याडमिन्टनमा कृषि विकास बैंकले २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जित्यो । टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारे । बुद्धिचालमा नेपाल वायुसेवा निगमका दिपेन्द्र ठाकुर विजेता बने । सबै खेलका पदक विजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो । फुटसलसहित कुल २ लाख ७५ रुपैयाँ नगद पुरस्कार वितरण गरियो आयोजकले जनाएको छ ।
विजेतालाई प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, इशानका अध्यक्ष रामविनय श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, इशानका सल्लाहकार कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ ५ गतेदेखि सुरु भएको प्रतियोगितामा २ सय ९९ प्रतिस्पर्धी सहभागी थिए ।
