काठमाडौँ, जेठ ८ गते ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा अमेरिकाविरुद्ध १२२ रनको जित निकालेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१।२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनायो ।
अमेरिकाका सञ्जय कृष्णमुर्तीले ५६ रनको इनिङ खेले । उनले ४४ बलमा समान चार चौका र छक्का प्रहार गरे ।
नोत्थुष केन्जिगेले २९, शायन जहाँगीरले २७, शेहान जयसूर्याले २६, कप्तान साइतेजा मुक्कामल्लाले २२, मिलिन्द कुमारले १२ र सौरभ नेत्रावल्करले १० रन जोडे । आठौँ विकेटका लागि सञ्जय र नोत्थुषबीच ७० रनको साझेदारी भएको थियो । दोस्रो विकेटका निम्ति शायन र शेहानले ५३ रनको साझेदारी गरेका थिए ।
