घिसिङद्वारा च्याम्पियन जापान पुरस्कृत

काठमाडौं बैशाख २३ गते ।
राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्य–सचिव टंकलाल घिसिङले एसिया रग्बी फिफ्टिन्स इमिरेट्स महिला च्याम्पियनसिपको उपाधि विजेता जापानलाई पुरस्कृत गरेका छन् । एसिया रग्बीका उपाध्यक्ष समेत रहेका घिसिङ प्रमुख अतिथिका रुपमा कार्यक्रममा सहभागी भएका थिए ।
कजाखस्तानको अल्माटीमा जारी प्रतियोगितामा एसियाका शीर्ष ३ वरीयतामा रहेका राष्ट्र जापान, हङकङ चीन र कजाखस्तानले प्रतिस्पर्धा गरेका थिए । सिंगल राउन्ड रोविनका आधारमा भएको प्रतियोगितामा जापानले पहिलो खेलमा कजाखस्तान र दोश्रोमा हङकङ चीनलाई पराजित गर्दै उपाधि जितेको हो । लिगको अन्तिम खेल भने हुन बाँकी छ । लिगको अन्तिम खेल कजाखस्तान र हङकङ चीनबीच मे १० तारिखमा हुनेछ ।


‘अल्माटीमा आयोजित एसिया रग्बीमा पुरस्कार वितरण गर्न पाउँदा सम्मानित भएको महसुश गरेको छु । जापानलाई जितका लागि बधाई छ । तपाईंको अनुशासन, टिम वर्क र जोशले साँच्चै एसियाली रग्बीमा उत्कृष्टताको मानक तय गरेको छ ।’ पुरस्कार वितरणपछि घिसिङले आफ्नो फेसबुकमा लेखेका छन्– ‘हङकङ चीन र कजाखस्तान टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि, उत्कृष्ट कार्यक्रम गरेकोमा आयोजक संघलाई, मूल्यवान प्रायोजक एमिरेट्सलाई निरन्तर समर्थनका लागि र यो प्रतियोगिता सम्भव बनाउने स्वयंसेवकहरूलाई प्रशंसनीय कार्यका लागि हार्दिक धन्यवाद । यो च्याम्पियनसिपले एसियाभरि महिला रग्बीको स्थिर प्रगति र बढ्दो स्तरलाई प्रतिबिम्बित गर्दछ, र सबै तहमा खेललाई अझ विकास गर्ने हाम्रो साझा प्रतिबद्धतालाई सुदृढ गर्दछ ।’

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ