नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

काठमाडौँ, बैशाख १८ गते ।

नेपाल प्रहरीकी नविता श्रेष्ठ, एभीएमकी वियंका राई, एभीएमकी इभाना थापा र भिजन टेबलटेनिस एकेडेमीकी योङगी पौडेल दोश्रो पुष्पराज स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नविताले प्रहरीकै सुस्मिता खड्कालाई ११–८, ९–११, ११–६ र १३–११ तथा वियंकाले भक्तपुरकी दिया देउलालाई ११–३, ११–९ र ११–९ को सेटमा पराजित गरे ।

त्यस्तै इभानाले भक्तपुरकी दीक्षा दाहाललाई ११–२, ११–४ र ११–२ तथा योङगीले प्रहरीकी रविना महर्जनलाई ११–६, ७–११ ११–९ र १३–११ को सेटमा हराए । सेमिफाइनलमा इभानाको भेट योङगीसंग हुनेछ भने नविताले वियंका विरुद्ध खेल्ने छिन् ।

ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजनमा खोल्चा पुखु खेलकुद उपसमितिले आयोजना गरेको प्रतियोगितामा २ सय खेलाडी सहभागी छन् । विभिन्न ६ स्पर्धा समावेश प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।

ललितपुर जिल्ला टेबलटेनिस संघको सहयोग तथा स्पिन इभेन्ट्स प्रा.लि. को व्यवस्थापनमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ । अफिसियल बल पार्टनरमा यिन्हे डाँफे रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ