बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो

काठमाडौँ, बैशाख १८ गते ।

युकेको एल्डरशट र लन्डनमा भै रहेको ‘पाँचौँ ए स्टार नेपाल बास्केटबल लिग २०२६’ ले बास्केटबल प्रेमीहरूको ध्यान तानिरहेको छ । प्रतियोगिता मध्य चरणमा प्रवेश गर्दा खेलहरू थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्दै गएका छन् । यसपटकको लिगमा पुरुषतर्फ ११ र महिलातर्फ २ टिम सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत पाँचौँ साताका खेलहरू निकै प्रतिस्पर्धात्मक रहे, जसमा डीबीएसले ग्रीनफोर्ड नाइट्समाथि ८४–८२ को रोमाञ्चक जित दर्ता ग¥यो । अन्य खेलहरूमा बलर्स स्ल्यामर्सले नर्थोल्ट फ्लेमर्सलाई १०१–८६ ले, ह्याम्पशायर हूपर्सले साउथ आशफोर्ड वुल्भ्सलाई ९७–८० ले र स्यान्डहस्र्ट निक्सले म्याम्बासलाई ८६–५६ ले पराजित गरे । कोलचेस्टर एलिटले पनि हिमालयन हीटलाई ८६–५२ को फराकिलो अन्तरले पन्छाउन सफल भयो ।

व्यक्तिगत प्रदर्शनतर्फ खेलाडीहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । अलि अदनानले प्रति खेल औसत २८.३ अंकका साथ अग्रता लिइरहेका छन् भने सुदन गुरुङले २६.३ र आयुष सिंहले २४.५ अंक प्रति खेलको औसत कायम राखेका छन् । त्यस्तै रबि राई र आयुष गुरुङको प्रदर्शन पनि उत्कृष्ट रहेको छ । अहिलेसम्मको यात्रामा रोशन थकाली, रवि राई, करन लिम्बु, युनियन गुरुङ र आयुष सिंहले क्रमशः पहिलोदेखि पाँचौँ साताको ‘प्लेयर अफ द वीक’ को उपाधि जितिसकेका छन् ।

अंक तालिकामा ग्रीनफोर्ड नाइट्स, स्यान्डहस्र्ट निक्स र कोलचेस्टर एलिट समान ९ अंकका साथ शीर्ष स्थानमा छन् । ह्याम्पशायर हूपर्स ८ अंकसहित उनीहरूलाई पछ्याइरहेको छ भने डीबीएस, बलर्स स्ल्यामर्स र हिमालयन हीटको समान ७ अंक रहेको छ ।

मार्च १५ बाट सुरु भएको यस लिगको सफलताप्रति नेपाल बास्केटबल लिग युकेका अध्यक्ष रुपक गुरुङले खुसी व्यक्त गरे । उनले खेलाडी र दर्शकको उत्साहजनक सहभागिताले आयोजकलाई थप हौसला मिलेको बताउँदै मुख्य प्रायोजक ए स्टार मोर्गेजेज र ए स्टार फाइनान्सियल सलुशन्स युके लगायत सबै सहयोगी हातहरूलाई धन्यवाद दिए । प्रतियोगिताको फाइनल खेल आगामी जुलाई ४ तारिखमा ब्रुनेल युनिभर्सिटी अफ लन्डनमा आयोजना हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ