हिमालयन गोल्डकप फुटसल प्रतियोगिताको तेस्रो संस्करण आगामी बिहीबार र शुक्रबार आयोजना हुने भएको छ । हिमालयन फुटबल क्लबले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिदैं विजेताले ३ लाख र उपविजेताले १ लाख रुपैंया प्राप्त गर्ने बताएको हो।
आयोजकका अनुसार प्रतियोगिताका सबै खेलहरु रोयल नेपाल फुटसल मैदान पेप्सीकोलामा खेलाइनेछ । यसअघिका दुवै संस्करणको उपाधि भने आयोजक हिमालयन फुटबल क्लबले जितेको थियो ।
फेयर प्ले टिमले २० हजार रुपैयाा तथा विधागततर्फ उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले समान १० हजार तथा उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकले समान ५ हजार रुपैयाा पुरस्कार पाउने छन् ।
प्रतियोगितामा ४० भन्दा बढी टोली सहभागिता रहने आयोजक क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी गराए । त्यसमध्ये पांच टोली बाहिरी जिल्लाबाट आउनेछन् । बाहिरी जिल्लाका टोलीका लागि आयोजकले खाना र आवासको व्यवस्था गर्ने जनाइएको छ ।
यस वर्ष प्रतियोगितालाई सामाजिक सहयोग अभियानसाग समेत जोडिएको छ । बाढीपीडित तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगका लागि प्रतियोगिताका क्रममा सहयोग संकलन अभियान सञ्चालन गरिनेछ । संकलित रकम विपद् प्रभावित तथा पीडित परिवारको राहत र सहयोगमा प्रयोग गरिने आयोजकले जनाएको छ ।
