काठमाडौं वैशाख १३ गते।
टेक्सपायर कर्पोरेट टी–१० लिग काठमाडौको तल्लो मुलपानी मैदानमा आजबाट सुरु भएको छ। आज भएको पहिलो खेल वर्षाले प्रभावित हुँदा क्लाउड फ्याक्ट्रीले सिप्रडी लाई डकवर्थ–लुइस नियमअनुसार ५ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले ७ ओभरमा २ विकेट गुमाउँदै ९२ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। टोलीका लागि जुलन महर्जनले १९ बलमा ३८ रनको उत्कृष्ट इनिङ्स खेले भने चन्द्र गुरुङले मात्र ३ बलमा १५ रन जोड्दै तीव्र गति दिए। साथै सुबोध ढुंगेल १५ रनमा अविजित रहे।
जवाफमा सिप्रडीले ७ ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनायो। शैलेन्द्र नेपालले ३७ रन बनाएर अविजित रहँदा युगेश न्यौपानेले २१ रनको योगदान दिए।
टेक्सपायर कर्पोरेट टी–१० लिग अन्तर्गत आज भएको दोस्रो खेलमा आईसिएफसी फाइनान्सले सुबिसु लाई ३७ रनले पराजित गर्दै शानदार जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गरेको आईसिएफसी फाइनान्सले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ११० रनको मजबुत योगफल तयार ग¥यो। टोलीका लागि सुरज तिमल्सिनाले विस्फोटक प्रदर्शन गर्दै २२ बलमा ५६ रन बनाए, जसमा ६ चौका र ४ छक्का समावेश थिए। उनलाई सोमेश यादवले १८ रन र सुभाष भण्डारीले ९ रन जोड्दै राम्रो साथ दिए।
११० रनको लक्ष्य पछ्याएको सुबिसु को सुरुवात कमजोर रह्यो। टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै ८ ओभरमा ६ विकेट गुमाएर मात्र ७३ रन बनाउन सक्यो। विजय कुमार मण्डलले २७ रन बनाउँदै संघर्ष गरे पनि अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन्। निराजन परियारले १६ रन जोडे।
आजको टेक्स्पायर र एनसेल बीचको तेस्रो खेल वर्षाका कारण रद्द भएको छ। खेल रद्द भएपछि दुवै टोलीले एक –एक अंक बाँढे।
