काठमाडौं, बैशाख ३ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको आयोजनामा हाइ लेभल स्पोर्ट्स सेमिनार बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ ।
सेमिनारको औपचारिक उद्घाटन भने राखेपका सदस्य–सचिव रामचरित्र मेहताले शुक्रबार गर्ने कार्यक्रम रहेको छ ।
सेमिनारमा राखेपमा कार्यरत विभिन्न १२ खेलका ३० प्रशिक्षक सहभागी छन् । उनीहरुलाई सुशिलनरसिंह राणाले एप्लाइड सायन्स, जगदीश भट्टले मोटिभेसन र स्पोर्ट्स म्यानेजमेन्ट, सञ्जय महर्जनले स्पोर्ट्स न्युट्रिसन तथा लक्ष्मण अधिकारीले बायो मेकानिकल सम्बन्धी ज्ञान दिने छन् ।
कुल १ सय पूर्णाङ्कको असेस्मेन्ट हुनेछ । त्यसमा मल्टिपल च्वाइस क्वेसनमा ७५ अंक, प्राक्टिकलमा १५ अंक, विषयगतमा ५ अंक र आन्तरिकमा ५ अंक छुट्टाइएको छ । सेमिनार बैशाख १२ गतेसम्म चल्ने छ । यो सेमिनार गत वर्षदेखि सुरु भएको हो ।
