काठमाडौँ, चैत २९ गते ।
राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि जित्यो।
पुरुषतर्फ एपीएफले आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ गण्डकीले कर्णाली प्रदेशलाई १२–७ ले हरायो । महिलातर्फ बागमतीले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्यो ।
व्यक्तिगततर्फ पुरुषमा एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी हात पारिन् ।
नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो । समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा एसिया रग्बी संघका उपाध्यक्ष टंकलाल घिसिङलगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
