दशौं पीएम कप एनभीए भलिबल १० वैशाखदेखि

काठमाडौं चैत १४ गते ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा दशौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग आउँदो १० वैशाखदेखि हुने भएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‍ (राखेप) को कभर्डहलमा हुने आयोजकले जनाएको छ। यस प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी, नेपाल प्रहरी, एपीएफ, खिल्जी युवा क्लब (लुम्बिनी), पश्चिम रुकुम, कोशी प्रदेश र बुढानिलकण्ठ क्लब सहभागी हुनेछन् । महिलातर्फ न्यू डायमण्ड, नेपाल प्रहरी, एपीएफ, सुदूरपश्चिम, एभरेष्ट क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ । विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ६० हजार तथा उत्कृष्ट सर्भर, ब्लकर, लिवेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । साथै, प्रत्येक टोलीले बढीमा ३ जना विदेशी खेलाडी सहभागी गराउन पाउने व्यवस्था गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ