काठमाडौँ, फागुन ७ गते ।
दोस्रो महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ।
काठमाडौँस्थित दशरथ रङ्गशालामा जारी खेलमा पुरुषतर्फ भने कोशी प्रदेशले फराकिलो जित हात पारेको छ ।
महिला तर्फको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्यो । गण्डकीका लागि अंकिता अधिकारीले १४औँ र ६०औँ मिनेटमा दुई गोल गरिन् । त्यस्तै २०औँ मिनेटमा बुद्धी माया मगर र ३७औँ मिनेटमा सीता माया बलले एक–एक गोल थपे । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गण्डकीकी सीता माया बल ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
महिला तर्फकै अर्को खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई १–० गोल अन्तरले हरायो । मधेसका लागि ४२औँ मिनेटमा प्रीति दासले निर्णायक गोल गरिन् । उत्कृष्ट प्रदर्शनका लागि मधेसकी प्रीति दास ‘प्लेयर अफ द म्याच’ बनिन् ।
यसैगरी पुरुष तर्फको खेलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ७–० गोल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्यो । कोशीका लागि सुदीप चौधरीले ७औँ, ३८औँ र ४८औँ मिनेटमा ह्याट्रिक पूरा गरे ।
त्यस्तै, लक्ष्मण समारियाले ३७औँ र ४४औँ मिनेटमा दुई गोल गरे भने ५०औँ र ५९औँ मिनेटमा कबिराज सञ्जेलले दुई गोल थपे । उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेका सुदीप चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
नेपाल हक्की सङ्घको आयोजनामा जारी प्रतियोगिता शनिबार सम्म सञ्चालन हुनेछ । शनिबार फाइनल खेल सञ्चालन हुने महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।
