काठमाडौँ, माघ २३ गते ।
सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।
नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको हो । प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए । ‘हाम्रो देशले एक खालको स्ट्रगल गरिरहेको अवस्थामा सबै स्ट्रगलबाट मुक्त भएर हामीले गरिरहेको खेलकुदको फोटो प्रदर्शनी समृद्धिको सङ्केत हो,’ उनले भने, ‘यो काम अत्यन्तै सह्रानीय कार्य हो । यस्तो काम मैले अरू ठाउँमा देखेको छैन ।’
प्रदर्शनीमा आहारारा पोखरा गोल्ड कपको सुरुदेखिका अविस्मरणीय क्षणहरू समेटेर १ सय वटा फोटो प्रदर्शनी गरिएको नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले बताए । आहाराराको २५ वर्षे इतिहास, सङ्घर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत् जनसमक्ष प्रस्तुत गरिएको हो । ५० भन्दा बढी फोटोमा फुटबल मैदान भित्रका गोल, जित–हारका क्षण, खेलाडीको सङ्घर्ष, समर्थकको भावना तथा मैदान बाहिरको फुटबल संस्कृतिलाई प्रस्तुत गरिएको छ ।
पोखरा महानगरपालिका वडाध्यक्ष दीपेन्द्र मर्सानीले फोटोमा देखिने हरेक विषयवस्तु सत्य हुने भएकाले पत्रकारितामा फोटोको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले नेपाल फोटो पत्रकार संघ, कास्की हरेक क्रियाकलापमा आफूले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नयाँ पुस्तालाई नेपाली फुटबलको इतिहाससँग जोड्नुका साथै पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्धन गर्न प्रदर्शनीले सहयोग गर्ने सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले बताए । यसले पोखरालाई खेलकुद पर्यटनको केन्द्रका रूपमा प्रवर्द्धन गर्न समेत योगदान पु¥याउने अपेक्षा गरिएको उनले सुनाए ।
नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष माधव बरालले २५ वर्षको इतिहासमा कुनै पनि वर्ष नछुटाई आयोजना हुनेले निरन्तरताको गतिलो सन्देश गएको बताए । ‘देशमा ठुला घटना र परिवेश आयो । ६२/६३ को आन्दोलन, ७२ को भूकम्प र कोरोना महामारीको समयमा पनि आहारारा गोल्डकप रोकिएन,’ उनले भने, ‘प्रतियोगिताले अहिले २५ वर्षमा लागेको छ । अझै सयौँ सयौँ वर्ष सञ्चालन भइरहोस् शुभकामना ।’ उनले प्रतियोगितालाई पत्रकारले प्रचारप्रसारमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए ।
२०५८ सालमा क्याराभान कोल्ड कपबाट सुरु भएको प्रतियोगिता २५ वर्षमा आइपुगेको हो भने आहा रारा गोल्ड कपको २५ औँ संस्करण माघ २७ गतेबाट पोखरा रंगशालामा सुरु हुँदै छ । यो पटक ३ विदेशी, ए डिभिजन क्लब, विभागीय, आयोजकसहित १२ टिमको सहभागिता रहनेछ ।
प्रदर्शनीमा राखिएको फोटोहरू आहारारा पोखरा गोल्डकपको दौरान माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रंगशालामा पनि प्रदर्शन गरिने एनपिजेए कास्कीका अध्यक्ष गुरुङले जानकारी दिए । शुक्रबार प्रदर्शनीमा छुटेकाहरूले प्रतियोगिता अवधिभर अवलोकन गर्न सक्ने उनले बताए ।
