विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ समग्रमा छैटौंपल्ट च्याम्पियन बनेको हो । वर्ष २०८१ मा एपिएफको यो पहिलो उपाधि हो । एपिएफले गत वर्ष २०८० मा चारपटक उपाधि र तीनपटक उपविजेता बनेको थियो । यसअघि लगातार पाँचपल्ट च्याम्पियन बनेको एपिएफ छ्रैटौं सस्करणमा भने उपविजेतामा सीमित बनेको थियो ।
त्यसबेला चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले एपिएफको विरासत तोड्दै पहिलो पटक फाइनल पुग्दा पहिलोमै च्याम्पियन बन्न सफल भएको थियो ।
यता, पुलिसले पाँचपल्ट फाइनल खेलेपनि उपाधि भने जित्न सकेन । पुलिस सबै पाँच संस्करणमा एपिएफसँग नै पराजित हुन पुगेको छ । पाँचौं संस्करणमा आर्मीले फाइनल खेलेको थियो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएपनि पुलिसले अपेक्षाकृत खेल पस्कन नसक्दा खेल सोझो सेटमा नै सकियो । पुलिसले पहिलो र दोस्रो सेटमा एपिएफले बलियो चुनौती पेश गरेपनि तेस्रो सेटमा भने फितलो खेल पस्कियो ।
पहिलो सेटमा एपिएफ २५–२२ ले विजयी भयो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेटमा एक समय पुलिसले ११–५ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । एपिएफले पूनरागमन गर्दै खेललाई १२–१३ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए । त्यसपछि पुलिसलाई १५–१५ को बराबरीमा भेट्टायाे ।
१९–१९ को बराबरीबाट एपिएफले २ अंकको अग्रता लिएपनि पुनः पुलिसले २२–२१ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा एपिएफलाई २४–२६ ले नतिजा सुम्पन पुग्यो ।
तेस्रो सेटमा भने पुलिसको प्रदर्शन फितलो रहँदा एपिएफले २५–१९ को सहज जित निकाल्न सफल भयो । एपिएफकी पुजा चौधरी प्लेयर अफ दि म्याच घोषित भइन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ प्राप्त गरिन् ।
उपाधिसँगै एपिएफले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार रुपैयाँ हात पारेको छ ।
तेस्रो भएको चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले १ लाख २५ हजार रुपैयाँ तथा चौथो भएको आर्मीले ६२ हजार रुपैयाँ प्राप्त गरेको छ । शनिबारै डायमण्डले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
