नेपाली महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पु¥याउँदै आएकी क्रिकेटर मनीषा उपाध्यायलाई ‘स्व.रमा देवी स्मृति क्रिकेट कप’ को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गरिएको छ ।
नेपाली क्रिकेटमा मनीषाले पु¥याएको योगदान, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप उक्त क्रिकेट किट प्रदान गरिएको हो । क्रिकेटप्रतिको उनको समर्पण र आगामी दिनमा अझ उच्च सफलता हासिल गर्ने यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सामाग्री प्रदान गरिएको आयोजकले जनाएको छ ।
मनीषा उपाध्यायलाई स्व.रमा देवी स्मृति क्रिकेट कपका प्रतियोगिता निर्देशक राज क्षेत्रीले क्रिकेट सामग्री हस्तान्तरण गर्दै सम्मान गरेका हुन् । क्षेत्रीले नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान र प्रोत्साहन गर्नु आफ्नो जिम्मेवारी मात्र नभई नेपाली क्रिकेटको विकासमा योगदान गर्ने एउटा महत्वपूर्ण प्रयास भएको बताए ।
उक्त कार्यका लागि प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताको पहल गरेका थिए ।
सम्मानपछि प्रतिक्रिया दिँदै राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायले ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’ का आयोजकप्रति आभार व्यक्त गरेकी छन् । नेपाली क्रिकेटमा आफूले गरेको योगदानको कदर गर्दै गरिएको सम्मानले आफूलाई थप उत्साह र प्रेरणा मिलेको उनले बताइन् ।
