
काठमाडौं, माघ ९ गते ।
सातदोबाटो युथ क्लबले जारी राष्ट्रिय एन्फा लिग फुटबल प्रतियोगितामा शुक्रबार मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ।
दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोका लागि विदेशी खेलाडी फोडे फोफानाले खेलको ६१औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए।
यस जितसँगै सातदोबाटोले जारी लिगमा पहिलो सफलता हासिल गरेको हो। यसअघि सातदोबाटोले संकटासँग बराबरी खेलेको थियो भने एनआरटीसँग पराजित भएको थियो।
खेलपछि प्रतिक्रिया दिँदै सातदोबाटोका मुख्य प्रशिक्षक बालगोपाल साहुखलले नतिजाबाट सन्तुष्टि व्यक्त गरे।
उनले भने, “अघिल्ला दुई खेलमा राम्रो खेल्दा पनि नतिजा हाम्रो पक्षमा आएन। आजको जितले टोलीको मनोबल बढाएको छ।”
उता मनाङ मर्स्याङ्दी क्लबका लागि भने यो प्रतियोगितामा लगातार तेस्रो हार हो। मनाङले पहिलो खेलमा त्रिभुवन आर्मी एफसीसँग ५–० को फराकिलो हार व्यहोरेको थियो भने दोस्रो खेलमा मछिन्द्र एफसीसँग २–१ ले पराजित भएको थियो।
लगातार तेस्रो हारपछि मनाङका मुख्य प्रशिक्षक नवीन महर्जनले टोली युवा भएकाले फर्मेसन मिलाउन अझै संघर्ष गरिरहेको बताए।
उनले सातदोबाटोसँगको खेलमा गल्तीका कारण गोल खानुपरेको स्वीकार गरे।