
काठमाडौं, माघ ८ गते ।
विभागीय टोली एपीएफले राष्ट्रिय एन्फा लिग फुटबल प्रतियोगितामा उपाधि दाबेदार चर्च ब्वाइज युनाइटेडले ४-१ ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
च्यासल रंगशालमा बिहीबार भएको खेलमा एपीएफका लागि युवराज खड्काले दुई तथा समिराज थोकर र प्रदिप लामाले एक-एक गोल गरेका हुन् । चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए ।
समिराजले २२औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । प्रदिपले ३८औं मिनेटमा एपीएफको अग्रता दोब्बर पारे ।
युवराज खड्काले ६०औं र ७७औं मिनेटमा गोल गरे । चर्च ब्वाइजका मिलन राईले ८२औं मिनेटमा एक गोल फर्काए हुन् ।
राष्ट्रिय लिगमा एपीएफसँगै लालिगुराँस एसोसिएसन र मछिन्द्र एफसीले मात्र लगातार दुई खेल जित्दै शतप्रतिशत नतिजा निकालेको छ ।
दुई खेलबाट एपीएफसहित तीनवटै टिमले समान ६ अंक जोडेका छन् । लालिगुराँस र एपीएफले दुई खेल जित्दा समान ५ गोल गरेका छन् र १ गोल व्यहोरेका छन् ।