
काठमाडौं, माघ ८ गते ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनको झिनो अन्तरले पराजित हुन पुगेको हो।
नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा जितका लागि १३ रन आवश्यक रहँदा कप्तान रुबिना क्षेत्री र सीता राना मगरले प्रयास गरे पनि १० रनमा सीमित भएपछि नेपाल हार्न बाध्य भयो।
नेपालका लागि अन्त्यतिर रुबिना क्षेत्री र सीता राना मगरले उत्कृष्ट साझेदारी गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्याएका थिए। २४ बलमा ४८ रन आवश्यक रहेको अवस्थामा यी दुई खेलाडीले धैर्य र आक्रामकता देखाउँदै आशा जगाएका थिए। रुबिनाले ३७ रन अविजित बनाउँदा सीता राना मगरले २७ रन अविजित बनाइन्। त्यसअघि बिन्दु रावलले १८ रनको योगदान दिएकी थिइन्।
बलिङतर्फ नेदरल्यान्ड्सकी इसाबेल भान डर वोनिङ सर्वाधिक प्रभावशाली रहँदै ३ विकेट लिइन्। सिल्भर सिगर्स, रोबिन रिके र कारोलिन डे लाङले १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडे ले सर्वाधिक ४९ रन बनाइन् भने स्टेर कालिसले ३० रनको योगदान दिइन्। रोबिन रिके १९ रनमा र आइरिस ज्विलिङ १४ रनमा अविजित रहिन्।
नेपालको बलिङतर्फ कप्तान रुबिना क्षेत्रीले २ विकेट लिँदा रिया शर्मा, सुमन विष्ट र पूजा महतोले १–१ विकेट लिए।
यसअघि नेपाल आफ्नो पहिलो खेलमा पनि थाइल्यान्डसँग पराजित भएको थियो। लगातार दोस्रो हारसँगै नेपालको प्रतियोगितामा यात्रा कठिन बन्दै गएको छ।
उता, नेदरल्यान्ड्स भने आजको जितसँगै सुपर सिक्स चरणमा प्रवेश गर्न सफल भएको छ।
