महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा बंगलादेशको दोस्रो जित

काठमाडौं, माघ ६ गते ।

आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा बंगलादेशले पपुवा न्युगिनी ‘पीएनजी’ लाई ३० रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले २० ओभरमा ९ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । सुरुवात राम्रो गरेको भएपनि पीएनजीले लक्ष्य पूरा गर्न सकेन ।
पीएनजीका लागि कप्तान ब्रेन्दा ताउले सर्वाधिक ३५ रन बनाइन् । सिबोना जिमीले २८ रन बनाइन् । होलान डोरिगाले २१ रन बनाइन् ।

बंगलादेशका लागि संजिदा अख्तर, राबेया खान, रितु मोनी, फहिमा खातुन, शोबाना मोस्तारी र शोर्ना अख्तरले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

शोर्ना अख्तरले सर्वाधिक ३७ रन बनाइन् । दिलारा अक्तरले ३५ रन बनाइन् । शोबाना मोस्तारी ३४ रनमा अविजित रहिन् ।

पीएनजीका लागि माइरी तोम, हेनाओ थोमस, डिका लोहियाले १-१ विकेट लिए ।

बंगलादेशले पहिलो खेलमा अमेरिकालाई हराएको थियो । पीएनजी आयरल्यान्डसँग पराजित भएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ