राफिन्हाको उत्कृष्ट पुनरागमनमा बार्सिलोनाले स्पेनिस सुपर कप जोगायो, फ्लिकद्वारा खुलेर प्रशंसा

काठमाडौं, पुस २९ गते ।

काठमाडौं । बार्सिलोनाले आइतबार चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडलाई पराजित गर्दै स्पेनिस सुपर कप फुटबलको उपाधि सफलतापूर्वक रक्षा गरेको छ । साउदी अरेबियामा सम्पन्न फाइनल खेलमा बार्सिलोनाले रियललाई ३–२ गोलअन्तरले हराउँदै लगातार अर्को सुपर कप उपाधि आफ्नो नाममा लेखाएको हो ।

ब्राजिली विङ्गर राफिन्हाको दुई गोल प्रेरित प्रदर्शनमा बार्सिलोना विजयी बनेको हो । पछिल्ला पाँच खेलमा सात गोल गरिसकेका राफिन्हाले यो फाइनलमा पनि निर्णायक भूमिका निर्वाह गर्दै टोलीको जित सुनिश्चित गरे । चोटका कारण लामो समय मैदानबाहिर रहेका राफिन्हाको यो पुनरागमनलाई प्रशिक्षक हान्सी फ्लिकले खुलेर प्रशंसा गरेका छन् ।

अक्टोबर र नोभेम्बर महिनामा बार्सिलोनाले लय गुमाइरहँदा राफिन्हा चोटका कारण झण्डै दुई महिना मैदानबाट बाहिर थिए । तर मैदानमा फर्किएपछि उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको आक्रमणलाई पुनः धारिलो बनाएका छन् । यस फाइनलमा पनि उनकै प्रभावशाली खेल निर्णायक बनेको हो ।

खेलपछि प्रशिक्षक फ्लिकले भने, ‘राफिन्हाको अहिलेको प्रदर्शनले टिममा आत्मविश्वास फर्काएको छ । उनको खेलको सबैभन्दा ठूलो विशेषता भनेकै यही हो—उनी मैदानमा जोस र ऊर्जा ल्याउँछन् । हामीलाई अहिले चाहिएको पनि यही भावना हो ।’

गत सिजन स्पेनिस सुपर कप जितेसँगै बार्सिलोनाले स्पेनी घरेलु फुटबलका तीनै प्रमुख उपाधि जितेको थियो । त्यसैले फ्लिकको विश्वास छ कि यसपटकको सफलता पनि टोलीको महत्त्वाकांक्षा अझ बढाउने खालको हुनेछ । सबै प्रतियोगितामा गरेर लगातार दसौं जित निकाल्न सफल भएपछि फ्लिकले थपे, ‘अहिले हाम्रो मानसिकता अत्यन्तै सकारात्मक छ । यही मानसिकताले टिमको आत्मविश्वास बढाइरहेको छ ।’

फ्लिकले एल क्लासिकोको महत्त्वलाई पनि विशेष रूपमा उल्लेख गरे । ‘यो फाइनल हाम्रा लागि धेरै महत्त्वपूर्ण थियो, किनभने यो रियलविरुद्ध थियो । रियलसँगको खेल जहिले पनि विशेष हुन्छ । यसपल्ट फाइनलमै जित निकाल्न सक्नु झनै खुसीको कुरा हो,’ उनले भने ।

प्रशिक्षक फ्लिक अहिलेसम्म प्रशिक्षकका रूपमा आठ फाइनल खेलिसकेका छन् र ती सबैमा विजयी रहन सफल भएका छन् । तीमध्ये पछिल्ला दुई फाइनल जित पोहोरको सिजन रियल म्याड्रिडविरुद्ध नै आएका हुन् । यसलाई फ्लिकले टोलीको एकाग्रता र मानसिक मजबुतीको प्रमाणका रूपमा लिएका छन् ।

खेलको अन्त्यतिर फ्लिकले डिफेन्डर रोनाल्ड आराजोलाई मैदानमा उतारे । उरुग्वेली खेलाडी आराजोले मानसिक कारणले केही समय फुटबलबाट विश्राम लिएका थिए । यसबारे बोल्दै फ्लिकले भने, ‘यो जितले उनलाई पनि थप समर्थन र आत्मविश्वास दिनेछ ।’

फ्लिकको नेतृत्वमा बार्सिलोनाले पछिल्लो सिजन खेलिएका सबै चार एल क्लासिकोमा जित निकाल्न सफल भएको थियो । पछिल्ला चार सुपर कप संस्करण जित्ने टोलीले नै अन्ततः ला लिगा उपाधि पनि जित्ने इतिहास रहेकाले यस सफलताले बार्सिलोनालाई थप उत्साहित बनाएको छ । सिजनको सुरुआतमा अपेक्षित लय नसमातेको बार्सिलोना निर्णायक मोडमा आएर उत्कृष्ट फर्ममा फर्किएको देखिन्छ ।

बार्सिलोना यस प्रतियोगिताको कीर्तिमानी १६ पटकको च्याम्पियन बनेको छ । यता, हारसँगै रियल म्याड्रिड र प्रशिक्षक जाभी अलोन्सोमाथि दबाब बढ्ने देखिएको छ । खेलपछिको प्रतिक्रिया दिँदै अलोन्सोले भने, ‘हार सधैं पीडादायी हुन्छ । हामीले अन्त्यसम्म संघर्ष गर्‍यौं, खेल बराबरीकै अवस्थामा थियो । तर जितका लागि बार्सिलोनालाई बधाई दिन चाहन्छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ