
काठमाडौँ,पुस २२ गते।
सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले सोमबार घरेलु टिम नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले हराएर त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ।
सदरमुकाम बेँसीसहरस्थित त्रिवेणी रङ्गशालामा सोमबार सम्पन्न त्रिवेणी कपको ३३ औँ संस्करणको फाइनल जितेपछि एपीएफले ट्रफीसहित १२ लाख रुपियाँ हात पारेको छ।
लाङ्दीदेवीले छ लाख रुपियाँमा चित्त बुझायो। एपीएफका लागि युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ७७ औँ मिनेटमा युवराजको गोलबाट एपीएफले अग्रता लिएको थियो। प्रदीपले छ मिनेटपछि एपीएफको अग्रता दोब्बर पार्नुभयो। गत संस्करणमा एपीएफले विवाइसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो।
उपाधि जितेपछि करिब सात वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको पूर्वक्लबमा पुनरागमन पनि विशेष बनेको छ।
फाइनलमा गोलकर्ता युवराज म्यान अफ दी म्याच भए । एपीएफका सन्तोष खत्री सर्वोकृष्ट खेलाडी बने।
सर्वोकृष्ट गोलरक्षकको उपाधि एपीएफकै एन्जल श्रेष्ठ र खेल अवधिभर समान तीन–तीन गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार एपीएफकै समीर थोकर र प्रदीप लामाले जिते । उनीहरूले पच्चीस पच्चीस हजार रुपियाँ प्राप्त गरे।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, वनमन्त्री भेषबहादुर पौडेल, संविधान सभा सदस्य जमिन्द्रमान घले, बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, त्रिवेणी क्लबका अध्यक्ष टेकजङ्ग गुरुङले विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई ट्रफी, पदक र नगद पुरस्कर प्रदान गरे।