
काठमाडौं, मंसिर १९ गते ।
सुदूरपश्चिम रोयल्स लगातार दोस्रो वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायर १ मा पुगेको छ । सुदूरपश्चिमले बिहीबार दोस्रो खेलमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै शतप्रतिशत विजय यात्रा कायमै राखेको हो ।
सुदूरपश्चिम ६ खेल जित्दै फाइनल नजिक पुगेको छ । टोलीको जितले विराटनगर किंग्सको पनि प्लेअफमा सुरक्षित भएको छ । सुदूरपश्चिमको १२, काठमान्डु गोर्खाजको १० र विराटनगरको ८ अंक छ । काठमान्डु र विराटनगर पहिलो पटक प्लेअफ पुगेका हुन् ।
सुदूरपश्चिमसँग क्वालिफायर १ मा काठमान्डु र विराटनगरमध्ये एकले फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्नेछन् । विराटनगरले शनिबार हुने खेलमा सुदूरपश्चिमलाई ठूलो अन्तरले पराजित गरेमात्र काठमान्डुलाई नेट रनरेटमा उछिन्ने सम्भावनारहेकोछ । लुम्बिनी लायन्सले शुक्रबार आज हुने खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेमा चौथो टोलीको रूपमा प्लेअफ पुग्ने छ । अन्यथा लुम्बिनी, जनकपुर, चितवन र पोखरा एभेन्जर्समध्ये एक टोलीको प्लेअफ पुग्ने सम्भावना रहन्छ ।
१ सय ७० रनको लक्ष्य पाएको चितवन कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १७.१ ओभरमा १ सय २० रनमा अलआउट भयको हो । भेट्रान रवि बोप्राले चितवनबाट सर्वाधिक २९ रन बनाए ।
उनले २३ बल खेल्दै १ चौका र २ छक्का प्रहार गरे भने देव खनाल ३ चौकासहित २८, अर्जुन साउद १६, कप्तान कुशल मल्ल १५, डेविड मलान र सैफ जैब ६–६, अमरसिंह रौटेला ९ रनमा आउट भए । सुदूरपश्चिमका पुनीत मेहराले ३ विकेट लिए । उनले २.१ ओभरमा १४ रन खर्चे । कप्तान दीपेन्द्रसिंह ऐरी, अविनाश बोहरा, इशान पाण्डे र पहिलो खेल खेलिरहेका हिक्मत महराले १–१ विकेट लिए ।
यसअघि ओपनर क्रिस लिनको ७५ रनमा टस हारेपछि ब्याटिङ निम्तो पाएको सुदूरपश्चिमले ४ विकेट गुमाई १ रन ६९ बनायो । लिन निकै भाग्यमानी रहे । कुशल २ रनमा हुँदा लिनको सजिलो रिटर्न क्याच छाड्न पुगे । चितवनलाई यो निकै महँगो पर्यो । प्लेयर अफ द म्याच लिनले कुल ५६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । १७ ओभरमा उनी रिटायर्ड हर्ट भएर मैदान छाडे ।
उनका ओपनिङ जोडी विनोद भण्डारीले १७ बलमा २ चौका र १ छक्कासहित २१ रन बनाए । इशान १, पुनीत १३, हरमित १ रनमै आउट भए । आरिफ शेख र दीपेन्द्र दुवै २४ रनमा अविजित रहे । आरिफले १६ बलमा २ चौका र १ छक्का तथा दीपेन्द्रले १४ बलमा २ छक्का प्रहार गरे । चितवनबाट जैबले २ विकेट लिए । रन्जित कुमारले र जर्ज स्क्रिमसवले १–१ विकेट हात पारे ।
ह्याट्रिकसहित शाहबको ६ विकेट
शाहब आलमले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमान्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हराएर प्लेअफको औपचारिकता पक्का गरेको थियो । पोखरालाई अन्तिम ओभरमा विजय पाउन २० रन चाहिने अवस्थामा शाहबले पहिलो ३ बलमा लगातार विकेट लिँदै ह्याट्रिक गरेपछि १ सय ६६ रनको लक्ष्य पाएको पोखरा २० ओभरमा १ सय ५२ रनमा अलआउट हुन् पुग्यो ।
लगातार चौथो जितले काठमान्डुले शीर्ष दुई स्थानमा रहँदै क्वालिफायर १ मा पुग्ने सम्भावना निकै बलियो बनायो । शाहब एनपीएलमा ह्याट्रिक विकेट लिने पहिलो बलर बने । उनले अन्तिम ओभरमै ४ विकेट लिए । देव्रेहाते स्पिनरले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिएका हुन् ।
ऋषि धवनले ५४ रन बनाई अन्तिम ओभरसम्म पोखराको आशा कायमै राखे । उनलाई शाहबले अन्तिम ओभरको पहिलो बलमा आउट गरे । त्यसपछि शाहब दोस्रो बलमा विपिन खत्रीलाई स्टम्पआउट र आकाश चन्दलाई मिलिन्दबाट क्याच गराई ह्याट्रिक पूरा गरे । चौथो बलमा सागर ढकालले छक्का प्रहार गरे पनि अन्तिम बलमा क्याच दिन पुगेपछि शाहवले ६ विकेट लिएका हुन् ।
धवनले ३१ बलमा ३ चौका र २ छक्का प्रहार गरे, धनञ्जय लक्षणले २७ बलमा १ चौकासहित ३० र कप्तान कुशल भुर्तेलले २० बलमा २ छक्कासहित २२ रन बनाए । एडम रोसिङ्टन ५, जेसन रोय १६, तृतराज दास ९, किरण ठगुन्ना ५ रनमा आउट भए । शाहबबाहेक काठमान्डुबाट कप्तान करण केसी र सन्नी पटेलले ४ ओभरमा समान २५ रन खर्चेर २–२ विकेट लिए ।
यसअघि बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकमा टस हारेपछि ब्याटिङ निम्तो पाएको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाई १ सय ६५ रन बनायो । चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए । १९ औं ओभरमा आउट भएका उनले ५ चौका र २ छक्का प्रहार गरे । १९ बलमै अर्धशतक पूरा गरेका प्लेयर अफ द म्याच भए । भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का समेत प्रहार गरे ।
काठमान्डुको सुरुआत राम्रो थिएन । आकाश त्रिपाठीलाई पहिलो ओभरमै लक्षणले बोल्ड गरे । रशिद खान १ छक्का प्रहार गरी १२ बलमा ७ रन बनाई आउट भए । मिलिन्द कुमार १३, जोन सिम्पसन २ र आदिल आलम अन्सारी ७ रनमै आउट भएपछि भीमले ठूला शटहरू खेलेका थिए । अन्तिम २ बल सामना गरेका करण केसी ४ रनमा आउट भए । पोखराबाट लक्षणले अन्तिम ओभमार दुईसहित ४ विकेट लिए । कुशलले २ तथा विपिन खत्री र किरणले १–१ विकेट हात पारेका थिए ।