एनपिएल : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा

काठमाडौँ, मङ्सिर १८ गते ।
साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिएपछि काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा पुगेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा बिहीबार भएको खेलमा काठमाण्डुले पोखरा एभेन्जर्सलाई १३ रनले हरायो ।

लिगको सबै खेल सकेको काठमाण्डु १० अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ । काठमाण्डु प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम दुई खेल अगावै प्लेअफमा पुगिसकेको छ ।

काठमाण्डुसँगको हारसँगै पोखराको प्लेअफ सम्भवना कमजोर बनेको छ । पोखराको ६ खेलबाट चार अङ्क छ । जितका लागि एक सय ६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको पोखरा एभेन्जर्स २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ५२ रनमा समेटिन पुगेको हो ।

पोखराका लागि रिशि धवनले अर्धशतकीय इनिङ खेले। रिशि धवनले ३१ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ५४ रन बनाए । यस्तै धनञ्जय लक्ष्मणले ३०, कप्तान कुशल भुर्तेलले २२ र जासन रोयले १६ रन बनाए ।

बलिङमा काठमाण्डुका साहब आलम एक्लैले ह्याट्रिकसहित ६ विकेट लिए । साहब आलम ले चार ओभरमा २५ रन खर्चिएर विकेट लिए । यस्तै सन्नी पटेल र कप्तान करण केसीले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डु गोर्खाजले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।

काठमाण्डुका लागि ओपनर बेन चार्ल्सवर्थले ६४ रनको अर्धशतकीय इनिङ्स ख्हेले । बेन चार्ल्सवर्थले ५५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ६४ रन बनाए ।

यस्तै भीम सार्कीले पनि ५५ रनको अर्धशतकीय इनिङ्सखेले । भीम सार्कीले २३ बलमा पाँच चौका र चार छक्का हाने । मिलिन्ड कुमारले १३ रन बनाए ।

बलिङमा पोखराका धनञ्जय लक्ष्मणले चार विकेट लिए। कुशल भुर्तेलले दुई तथा किरण ठगुन्ना र विपिन कार्कीले एक एक विकेटलिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ