
काठमाडौँ, मङ्सिर ११ गते ।
नेपालकी सानुमाया थिङले इजिप्टको कायरोमा बिहीबारदेखि सुरु भएको २७औँ डब्लुकेएफ विश्व कराते च्याम्पियनसिपमा पराजित भएकी छिन् ।

एकल कातामा नेपालको प्रतिनिधित्व गरेकी सानुमायाले तीनवटै खेलमा हार बेहोरेकी हो । उनी पहिलो खेलमा कोलम्बियाकी मचादो भ्यालेन्टिना जापातासँग, दोस्रो खेलमा आयोजक इजिप्टकी आया हेस्मामसँग र तेस्रो खेलमा फ्रान्सकी हेल्बिटिया ताइलीसँग पराजित भएकी हुन् ।
नोभेम्बर ३० तारिखसम्म हुने च्याम्पियनसिपमा अब नेपालकी एरिका गुरुङ ६८ केजीमाथि तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्नुहुनेछ । एरिकाको खेल शुक्रबार रहेको छ ।
नेपाली टोलीको अफिसियलमा नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहनुभएको छ ।
