राखेपले नेपाल गल्फ क्लबलाई अत्याधुनिक ग्रीन–कटर मेसिन हस्तान्तरण

काठमाडौं, मंसिर ३ गते ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपालमा गल्फ खेलको पूर्वाधार विकासलाई थप प्रभावकारी बनाउन नेपाल गल्फ क्लबलाई बुधवार अत्याधुनिक ग्रीन–कटर मेसिन उपलब्ध गराएको छ। अष्ट्रेलियामा निर्मित होण्डा मोडलका ग्रीन–कटर मेसिन एक थान र पानी तान्ने मेसीन एक थान राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले  औपचारिक रूपमा क्लबलाई हस्तान्तरण गरेको हो।

राखेपका अनुसार आधुनिक प्रविधियुक्त ग्रीन–कटर मेसिन मैदान व्यवस्थापनका लागि अपरिहार्य उपकरणमध्ये एक मानिन्छ। ग्रीनको सतह सम्याउने, घाँस समुचित उचाइमा राख्ने तथा खेल मैदानलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित गर्ने कार्यमा यो मेसिन अत्यन्त प्रभावकारी हुने बताइन्छ।

नेपाल गल्फ क्लबले लामो समयदेखि गल्फ मैदानको मर्मत–सम्भारलाई थप सुदृढ बनाउन आधुनिक उपकरण आवश्यक रहेको बताउँदै आएको थियो। राखेपले उपलब्ध गराएको यस उपकरणले मैदानको गुणस्तर सुधार गर्ने, खेलाडीहरूलाई अभ्यास तथा प्रतियोगिताका लागि अझ राम्रो वातावरण उपलब्ध गराउने तथा गल्फ पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस्तै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि राखेपले गल्फ खेलसम्बन्धी केही प्रशासनिक प्रक्रिया तथा कार्ययोजना अघि बढाउने तयारीसमेत गरेको छ। मैदान सञ्चालन, मर्मतसम्भार, खेल आयोजनादेखि आवश्यक कागजी प्रक्रिया पूरा गर्न क्लबसँग घनिष्ठ समन्वयमा काम गरिने राखेपले जनाएको छ।

नेपालमा गल्फ खेल विस्तार हुँदै गएको अवस्थामा यस्तो प्रविधियुक्त उपकरण हस्तान्तरणले खेलको व्यवस्थित विकासमा सकारात्मक प्रभाव पार्ने क्लबले जनाएको छ। गल्फ मैदानको स्तरवृद्धि तथा खेलाडीहरूको अभ्यास गुणस्तर सुधारसँगै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्न सहज वातावरण तयार हुने विश्वास राखिएको छ।

राष्ट्रिय खेलकुद परिषद र नेपाल गल्फ क्लबबीचको सहकार्यसँगै गल्फ खेललाई दीगो रूपमा विकास गर्न आवश्यक पूर्वाधार तथा प्रशासनिक प्रक्रियाहरू क्रमशः सुदृढ गर्दै लैजाने तयारी रहेको जनाएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ