
काठमाडौँ, मङ्सिर २ गते ।
चितवन राइनोजले दोस्रो संस्करणमो नेपाल प्रिमियर लिग (एनपिएल)मा विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको एनपिएल दोस्रो दिन पहिलो खेलमा चितवनले कर्णाली याक्सलाई चार विकेटले हरायो ।
जितका लागि एक सय ६७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन जोड्दै लक्ष्य पूरा गरेको हो । रोमाञ्चक यससँगै चितवनले गत संस्करणमा कर्णालीसँग दुई खेलमा हारेको बदलासमेत लिएको छ ।
चितवनका लागि रवि वोपराले ५२ रनको अर्धसतकीय खेले । रवि वोपराले ३६ बलमा तीन चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाए ।
यस्तै दीपक बोहराले ४२, सैफ जइफले अविजित ३८, कप्तान कुशल मल्लले २० र अर्जुन साउदले अविजित आठ रन जोडे। बलिङमा कर्णालीका सोमपाल कामीले दुई तथा युनिस सिंह, युवराज खत्री र मार्क वाटले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा एक सय ६६ रन बनाएको थियो ।
कर्णालीका लागि भारतीय ओपनर प्रियाङ्क पान्चालले ९० रनको विस्फोटक अर्धसतकीय खेलेपनि टोलीको हार टरेन ।
पान्चालले ४८ बलमा सात चौका र छ छक्काको सहयोगमा उक्त रन बनाए । यस्तै पवन सर्राफले अविजित २७, अर्का ओपनर म्याक्स ओ डाउडले २० र मार्क वाटले १६ रन बनाए ।
बलिङमा चितवनका सैफ जइव, रवि बोपरा र सोहिल तान्विरले एक एक विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका रवि बोपरा प्लेयर अफ दि म्याच भए । जितसँगै चितवनले दुई अङ्क बनाएको छ । कर्णालीले हारबाट एनपिएलको सुरुवात गरेको छ ।