
काठमाडौं, कात्तिक ३० गते ।
विश्व मञ्चमा नेपाललाई गौरवान्वित बनाउँदै आएकी प्रसिद्ध नेपाली अल्ट्रा धाविका सुनमाया बुढालाई नेपाल एडभेन्चर रनिङ महासंघले विशेष सम्मान प्रदान गरेको छ। आइतबार सातदोबाटो स्थित महासंघको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा बुढालाई नगद ५० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो।
सुनमायाले हालै स्पेनमा सम्पन्न वर्ल्ड माउण्टेन एण्ड ट्रेल रनिङ च्याम्पियनसिप २०२५ मा महिलातर्फको लङ डिस्ट्यान्स ८२ किलोमिटर दौडमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। यो पदक विश्व च्याम्पियनसिपमा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो र ऐतिहासिक उपलब्धि हो, जसले नेपाली ट्रेल रनिङको इतिहासमा नयाँ अध्याय थपेको छ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा महासंघका अध्यक्ष एकेन्द्र कुँवरले बुढाको उत्कृष्ट अन्तर्राष्ट्रिय प्रदर्शनले नेपाललाई गर्वान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा राज्यले गर्नुपर्ने सम्मानका लागि महासंघले पहल गर्ने बताएका थिए। उनले भने, “सुनमायाको उपलब्धि केवल व्यक्तिगत सफलता होइन, नेपालको पहिचान विश्वसामु उँचो बनाउने उपलब्धि हो।”
यसै अवसरमा सम्मानप्रति खुशी व्यक्त गर्दै सुनमायाले यस्तो सम्मानले खेलाडीहरूलाई नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्ने बताइन्। उनले निरन्तर मेहनत र लगनका साथ अझ उच्च लक्ष्य हासिल गर्ने दृढता व्यक्त गर्दै महासंघप्रति आभार प्रकट गरिन्।
वर्ल्ड च्याम्पियनसिपमा सुनमायासँगै नेपालका धावक सुमन कुलुङ राई, मनकुमार मगर, र साङ्गे शेर्पाले सहभागिता जनाएका थिए। नेपाली टोलीको उपस्थितिले अन्तर्राष्ट्रिय दौडमा नेपाललाई अब्बल राष्ट्रका रूपमा चिनाउँदै गएको महासंघको भनाइ छ।
यसैबीच, सुनमाया बुढा आगामी नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा हुने अल्ट्रा ट्रेल १०० किमि प्रतिस्पर्धामा सहभागी हुँदैछिन्। उनी आइतबारै त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ। महासंघले आगामी प्रतिस्पर्धामा समेत उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गर्दै उनलाई सफल यात्राको कामना गरेको छ।
नेपालकी गौरवशाली एथलेट, सुनमाया बुढाको निरन्तर उपलब्धिले नेपाली खेल क्षेत्रमा प्रेरणादायी ऊर्जा थपिएको छ, जसले देशका युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा सफलताको बाटो तर्फ अघि बढ्न प्रोत्साहित गर्नेछ।