
काठमाडौँ, कात्तिक ३० गते ।
नेपालले भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा नेपालले अमेरिकालाई १० विकेटको विशाल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो।
नेपालले समुहचरणमा हालसम्म खेलेका चार खेलमध्ये तीनमा विजय हासिल गर्दै ६ अंकसहित सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। यसअघि नेपालले अस्ट्रेलिया र श्रीलङ्काविरुद्ध जित निकालेको थियो भने दोस्रो खेलेमा बलियो टोली भारतसँग पराजित भएको थियो।
चार बलमै लक्ष्य पूरा
अमेरिकाले प्रस्तुत गरेको १८ रनको झिनो लक्ष्य नेपालले जम्मा ४ बलमै पूरा गर्यो। खेलमा नेपालकी उत्कृष्ट प्रदर्शनकर्ता दिलसरा धमलाले मात्र १२ अविजित रन बनाइन्। उनको आक्रामक सुरुवातले नेपाललाई सहज विजय दिलायो।
अमेरिकाको न्यून स्कोरले विश्वकपमा नयाँ रेकर्ड
टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकन टोली ९.४ ओभरमै १७ रनमा समेटियो, जुन दृष्टिविहीन क्रिकेट इतिहासकै सबैभन्दा कम योगफल हो।
यसअघि सन् २००६ मा वेस्ट इन्डिजले पाकिस्तानविरुद्ध २१ रन मात्रै बनाएको थियो।
अमेरिकाबाट कुनै पनि खेलाडी दोहोरो अंकमा प्रवेश गर्न सकेनन्। बलिङतर्फ नेपालकी दिलसरा धमलाले ३ विकेट लिँदै अमेरिकाको पारी धराशायी बनाइन् भने सुनिता घिमिरेले १ विकेट हात पारिन्। उत्कृष्ट ब्याटिङ र बलिङ प्रदर्शन गरेकी दिलसरा धमला ‘प्लेयर अफ दि म्याच’ घोषित भइन्।
नेपालको यो जितसँगै टिम आत्मविश्वासमा बढेको छ र अब फाइनल यात्रातर्फ उन्मुख हुने तयारीमा छ।