

स्याङ्जा, कात्तिक २९ गते । कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको सातौँ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। कालीगण्डकी–७ मिर्मी खेलमैदानमा सम्पन्न प्रतियोगितामा आदर्श माविले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित समग्र उपाधि हात पारेको हो।
प्रतियोगितामा भगवती माध्यमिक विद्यालय पाँच स्वर्ण, ६ रजत र २ कास्य पदक जीतेर दोस्रो स्थानमा रह्यो। त्यस्तै, जनता माध्यमिक विद्यालयले ४ स्वर्ण, ४ रजत र ४ कास्य पदकसहित तेस्रो स्थान सुरक्षित गर्यो।
बिजयी टोलीहरूलाई कालीगण्डकी गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले पुरस्कार वितरण गर्दै प्रतियोगिताले विद्यार्थीको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
उनका अनुसार गाउँपालिकाले खेलकुदलाई विद्यालय स्तरमै सबल बनाउन निरन्तर कार्यक्रमहरू अघि बढाइरहेको छ।
प्रतियोगितामा २८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिएको थियो। यसअन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, हाईजम्प, लङजम्प, त्रिपजम्प, ज्याभलिन थ्रो र सटपुट गरी विविध आठ विधामा खेलहरू सञ्चालन गरियो।
गाउँपालिका भित्रका १६ विद्यालयमध्ये १४ विद्यालयले सहभागिता जनाएका थिए भने प्रतियोगितामा ९८८ विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताबाट आगामी दिनमा समेत खेलकुदमार्फत विद्यार्थीहरूको क्षमता विकास हुने अपेक्षा आयोजकले गरेको छ।