
काठमाडौं , कात्तिक २८ गते ।
काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा काठमाडौं स्पाइकर्सले उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थान हात पारेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित प्लेसमेन्ट खेलमा काठमाडौंले लुम्बिनी लाभाजलाई ३–२ सेटको रोमाञ्चक नतिजासहित पराजित गर्दै तेस्रो स्थानमा आफ्नो दाबी पक्का गरेको हो।
खेलको सुरुवात काठमाडौंका लागि सहज थिएन।
पहिलो सेट लुम्बिनीले २५–२३ ले जित्यो, जसले दुवै टिमबीच कडा प्रतिस्पर्धाको संकेत दियो।
दोस्रो सेट पनि लुम्बिनीले २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा २–० को अग्रता बनाएको थियो। लगातार दुई सेट गुमाएपछि दबाबमा परेको काठमाडौंले भने आत्मविश्वास कायम राख्दै खेलको तेस्रो सेटबाट शानदार पुनरागमनको सुरुवात गर्यो।
तेस्रो सेटमा काठमाडौंले आक्रामक खेल प्रस्तुत गर्दै २५–१७ ले विजय दर्ता गर्यो।
चौथो सेटमा काठमाडौंको दबदबा झन् बढ्दै गयो र २५–१६ ले सहज जित निकाल्यो।
निर्णायक सेटमा काठमाडौंले उत्कृष्ट प्रदर्शन थप निरन्तरता दिँदै १५–६ को फराकिलो जित हात पार्यो र समग्रमा ३–२ ले खेल आफ्नो पक्षमा पार्दै तेस्रो स्थान सुरक्षित गर्यो।
लिग चरणमा काठमाडौंले ५ मध्ये ३ खेल जितेर कुल ८ अंक रकम गरेको थियो। स्थिर प्रदर्शनका बाबजुद काठमाडौं फाइनलमा पुग्न भने सकेन तर तेस्रो स्थानको परिणामले टोलीलाई सन्तोषजनक सफलता दिलाएको छ।
यता, लिगको फाइनलमा स्थान बनाइसकेका कर्णाली यशविस र ललितपुर क्विन्सबीच आज अन्तिम लिग खेल जारी छ। दुवै टोली यसअघि नै फाइनलमा प्रवेश गरिसकेकाले आजको खेलले फाइनलको मनोवैज्ञानिक तयारीमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।
एभरेस्ट महिला भलिबल लिगको उपाधि तय गर्ने फाइनल खेल भोलि हुनेछ।