
काठमाडौं,कात्तिक १९ गते ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय (ODI) क्रिकेटमा नयाँ इतिहास रचेका छन्। उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई हजार रन पूरा गर्ने पहिलो ब्याटर बनेका हुन्।
यो उपलब्धि रोहितले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलमा दुई रन बनाएसँगै हासिल गरे। यूएईविरुद्ध नेपाली पारीको सुरुवाती चरणमा आएका रोहितले सात बलको सामना गर्दै दुई रन जोडे र सोही संगै ऐतिहासिक कोसेढुंगा पार गरे।
२३ वर्षीय कप्तान रोहितले हालसम्म ७६ खेलमा ७२ इनिङ खेलेका छन् र ती इनिङहरूमा जम्मा २,००० रन बनाएका छन्। उनले आफ्नो एकदिवसीय करियरमा २ शतक र ११ अर्धशतक प्रहार गरेका छन्।
यति मात्र होइन, रोहित नेपालका लागि एकदिवसीय क्रिकेटमा दुई शतक प्रहार गर्ने पहिलो र हालसम्मका एकमात्र ब्याटर पनि हुन्।
उनको नेतृत्वमा पछिल्ला वर्षहरूमा नेपाली क्रिकेटले निरन्तर प्रगति गरेको छ। लिग–२ मा नेपालले उल्लेखनीय प्रदर्शन गर्दै विश्वकप छनोटसम्मको यात्रा तय गरेको थियो, जसमा रोहितको स्थिर ब्याटिङ र कप्तानीले महत्वपूर्ण भूमिका खेलेको थियो।
नेपाल क्रिकेट संघ (CAN) ले सामाजिक सञ्जालमार्फत रोहितलाई बधाई दिँदै भनेको छ — “रोहितको यो उपलब्धि नेपाली क्रिकेटको लागि गौरवपूर्ण क्षण हो। उनको योगदानले नयाँ पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिनेछ।”
