लुम्बिनी लायन्सद्वारा एनपीएल ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु

काठमाडौं,कात्तिक १४ गते ।

नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनी लायन्सले आगामी शनिबार र आइतबार (नोभेम्बर १ र २) लुम्बिनी क्षेत्रमा सुरु गर्ने भएको छ।

टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्नु र प्रतियोगिताप्रति उत्साह तथा सहभागिता बढाउनु रहेको क्लबले जनाएको छ। दुई दिनसम्म चल्ने यस यात्रामा लुम्बिनी लायन्सले क्षेत्रका प्रमुख शहर तथा सांस्कृतिक स्थलहरूमा भ्रमण गर्दै स्थानीय समुदायसँग सम्बन्ध सुदृढ गर्नेछ।

कार्यक्रमअनुसार पहिलो दिन (शनिबार) बिहान ९:३० बजे ट्रफी टुर भैरहवा विमानस्थलबाट सुरु हुनेछ। त्यसपछि टोलीले माया देवी मन्दिर, सिद्धार्थ रंगशाल, बेलहिया सुनौली, बुद्ध चोक, स्टार क्रिकेट एकेडेमी, मणिग्राम, कालिका नगर, मिलन चोक, ट्राफिक चौक, गोलपार्क र सिद्ध बाबा लगायत स्थानहरूमा पुग्नेछ।

दोस्रो दिन (आइतबार) बिहान ७:०० बजे बेल्बासबाट सुरु हुने टुर बाँकेसम्म पुग्नेछ। उक्त दिन टोलीले लमही, घोराही, भालुबाङ, तुल्सीपुर, कोहलपुर र नेपालगञ्जको बगैश्वरी मन्दिरलगायत स्थानमा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

लुम्बिनी लायन्सले यो ट्रफी टुर केवल ट्रफीको यात्रा नभई “लुम्बिनीको गौरव र नेपाली क्रिकेटको उत्सव” भएको जनाएको छ।

दोस्रो सिजनका लागि लुम्बिनीले अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। गत सिजनका कप्तान तथा मार्की खेलाडी रोहित पौडेलसहित सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई टिमले रिटेन गरेको छ।

यसैगरी, अक्सनमार्फत दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गरेको छ भने, विश लिस्ट बाट दुर्गेश गुप्ता र आदिल खान टोलीमा समावेश भएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी मंसिर १ गतेदेखि सुरु हुने तय भएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ