
काठमाडौं,कात्तिक ३ गते ।
सर्वाधिक छैटौँ पटकको विजेता अर्जेन्टिनालाई २–० ले पराजित गर्दै मोरोक्कोले इतिहास रच्दै फिफा यू–२० विश्वकपको उपाधि हात पारेको छ।
चिलीको नेसनल जुलियो मार्टिनेज प्राडानोस रंगशालामा आइतबार सम्पन्न फाइनलमा मोरोक्कोलाई जित दिलाउन यासिर जबिरीले पहिलो हाफमै दुई गोल गरे। जबिरीले खेलको १२औं र २९औं मिनेटमा गोल गर्दै मोरोक्कोलाई सहज जित दिलाए। यो मोरोक्कोले फिफाको कुनै पनि प्रतियोगितामा जितेको पहिलो उपाधि हो।
यसअघि भएको तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सलाई १–० ले हराउँदै कोलम्बियाले कांस्य पदक जितेको थियो। सेमिफाइनलमा मोरोक्कोले फ्रान्स र अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मोरोक्कोका ओथमाने माम्मा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै गोल्डेन बल प्राप्त गरे।
यसैबीच अमेरिकाका बेन्जामिन क्रेमास्चीले गोल्डेन बुट जिते। उनले पाँच गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका हुन्। समान गोल संख्या कोलम्बियाका नाइजर भिल्लारियल र फ्रान्सका लुकास माइकलले पनि गरेका थिए, तर क्रेमास्चीले बढी गोल अवसर सिर्जना गरेको कारण उनलाई विजेता घोषित गरिएको हो। क्रेमास्चीले दुई, भिल्लारियलले एक र माइकलले कुनै पनि गोल अवसर सिर्जना गर्न सकेनन्।
उपविजेता अर्जेन्टिनाका सान्टिनो बार्बी उत्कृष्ट गोलकिपर चयन हुँदै गोल्डेन ग्लभ्स अवार्डका विजेता बने।
यस्तै अमेरिकी टोलीले ‘फिफा फेयर प्ले अवार्ड’ प्राप्त गर्यो।