नेपाल अपराजित रहँदै ICC T20 विश्वकप एसिया–ईएपी छनोटको च्याम्पियन

काठमाडौं,असोज ३१ गते।
नेपालले अपराजित यात्रा कायम राख्दै ICC टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक (EAP) छनोटको उपाधि जितेको छ।

शुक्रबार सम्पन्न फाइनल खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै शीर्ष स्थान हासिल गरेको हो। नेपालले समूह चरणदेखि सुपर सिक्ससम्मको सबै खेल जितेर अविश्वसनीय प्रदर्शन गरेको छ।

सामोआले नेपालले दिएको विशाल २१२ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउँन सक्यो। सामोआका लागि सिन सोलियाले सर्वाधिक ४० रन बनाए।

नेपालका बलरमध्ये ललित राजवंशीले ३ विकेट लिएका थिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले १–१ विकेट लिए।

पहिले ब्याटिङ गर्दै नेपालले आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय प्रदर्शनको बलमा २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो। आसिफले ४१ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाउँदा दीपेन्द्रले ५३ रनमा २ चौका र ४ छक्का प्रहार गरे।

लोकेश बमले ११ बलमा ३९ रन बनाउँदै नेपालको पारी फिनिसिङ गरे। रोहित पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले १७ रन जोडे। सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १–१ विकेट लिए।

नेपालले यससँगै ११ वर्षपछि ICC प्रतियोगितामा उपाधि जितेको हो। यसअघि सन् २०१४ मा ICC डिभिजन चारको उपाधि जितेको नेपाल त्यसयता उपाधि जित्न असफल रह्यो। सन् २०२३ मा विश्वकप छनोट फाइनलमा नेपाल सुपर ओभरमा ओमानसँग पराजित भएको थियो।

समूह चरणमा नेपालले कुवेत र जापानमाथि जीत हासिल गरेको थियो। सुपर सिक्समा पहिलो खेलमै यूएईलाई १ रनले हराएको नेपालले त्यसपछि कतारविरुद्ध ५ रनले रोमाञ्चक जित निकाल्दै विश्वकपमा छनोट पक्का गरिसकेको थियो।

तेस्रो खेलमा ओमानमाथि ३८ रनको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको थियो। अन्तिम खेलमा सामोआमाथि १२४ रनको फराकिलो जित निकाल्दै नेपालले पूर्ण रूपमा च्याम्पियनको रूपमा उदाएको हो।

छनोटबाट नेपाल, यूएई र ओमानले आगामी वर्ष भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपको टिकट सुरक्षित गरेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ