
काठमाडौं, असोज २८ गते।
डीजीआर स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) २०२५ को खेलाडी अक्सन सोमबार काठमाडौंमा सफलतापूर्वक सोमवार सम्पन्न भएको छ। यो प्रतियोगिता टेनिस बल क्रिकेटमा आधारित रहेको छ र यस वर्ष पनि दर्शकलाई मनोरञ्जनका साथै प्रतिस्पर्धात्मक क्रिकेटको अनुभव प्रदान गर्ने लक्ष्य राखिएको छ।

यस अक्सनमा प्रतियोगितामा सहभागी हुने कुल ७ टिमले आफ्नो स्क्वाड चयन गरेका छन्। अक्सनका लागि २५८ जना खेलाडीहरू प्रारम्भिक रूपमा सर्टलिस्ट गरिएको थियो भने अन्ततः ९१ जना खेलाडीहरू अक्सनमार्फत विभिन्न टिममा चयन भएका छन्। खेलाडीहरूलाई चार समूहमा बिभाजन गरिएको थियो – ए, बी, सी र अन्डर १९ – जसले युवा र अनुभवी खेलाडी दुवैलाई समान अवसर प्रदान गरेको छ।
हरेक टिमसँग एक–एक जना मार्की खेलाडी रहेका छन्। यस वर्षका मार्की खेलाडीमा:
बिराटनगर रोयल्स: मोहम्मद निशार
अप्पन जनकपुर: अस्फाक आलम
लुम्बिनी राइडर्स: रुपेश कुर्मी
खप्तड सुदूरपश्चिम थन्डर्स: मेहबुब आलम
कर्णाली हाइल्याण्डर्स: चेत बहादुर बादुवाल
पोखरा फाल्कन्स: सुनिल दौलियाल
काठमाडौं किङ्स: जितु कार्की
अक्सनको क्रममा युवा प्रतिभा र अनुभवी खेलाडीबीचको प्रतिस्पर्धाले समग्र लिगको रोमाञ्चकता बढाएको छ। आयोजकहरूले आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन देखाउने खेलाडीहरूलाई चिन्ने अवसर प्रदान गर्ने लक्ष्य राखेका छन्।
नेपाल स्ट्रिट प्रिमियर लिग यस वर्ष पनि देशभरका क्रिकेटप्रेमीका लागि एक उत्सवको रूपमा उभिने अपेक्षा गरिएको छ, जहाँ युवा क्रिकेटरहरूले आफ्नो प्रतिभा देखाउने साथै अनुभवी खेलाडीहरूले खेलको स्तर उचाल्ने छन्।
