
काठमाडौं, असोज २८ गते ।

अफ्रिकी छनोट समूहबाट घानाले सन् २०२६ मा हुने फिफा विश्वकपमा स्थान बनाएको छ। यससँगै घाना अफ्रिकाको पाँचौँ राष्ट्र बनेको छ जसले आगामी विश्वकपमा खेल्न योग्य भएको हो। यसअघि अल्जेरिया, इजिप्ट, मोरोक्को र ट्युनिसियाले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगितामा स्थान सुरक्षित गरिसकेका थिए।
सन् २०१० मा विश्वकपको क्वाटरफाइनलसम्म पुग्ने इतिहास बनाएका घानाले समूह ‘आई’ अन्तर्गत कोमोरोसविरुद्धको अन्तिम खेलमा मात्र एक अङ्क आवश्यक थियो। घरेलु मैदानमा भएको खेलमा घानाले कोमोरोसलाई १–० ले पराजित गर्यो। टोटनह्यामका फरवार्ड मोहम्मद कुडुसले खेलको ४७ औँ मिनेटमा निर्णायक गोल गर्दै घानालाई विश्वकपमा प्रवेश गराउनुभयो। अफ्रिकी समूहबाट नौ टोली स्वतः विश्वकपमा छनोट हुने प्रावधान रहेको छ।
फारोइ आइल्यान्डको चमत्कार
युरोपेली समूहमा फिफा वरीयतामा १३६ औँ स्थानमा रहेको फारोइ आइल्यान्डले चेक गणतन्त्रलाई २–१ ले हराउँदै विश्वकपको अभियानमा ठूलो सफलता हात पारेको छ। खेलको ६७ औँ मिनेटमा हानस सोरेनसनको गोलले अग्रता बनाइरहँदा, स्थानापन्न खेलाडी मार्टिन आग्नारसनले ८१ औँ मिनेटमा निर्णायक गोल गर्दै जित सुनिश्चित गर्नुभयो। चेकका एडम काराबेकले खेलको ७८ औँ मिनेटमा गोल गरे पनि फारोइको अग्रता फर्काउन सकेनन्।
५४० स्क्वायर माइल्स क्षेत्रफल र केवल ५५ हजार जनसङ्ख्या भएको सानो देश फारोइ आइल्यान्डले यस जीतसँगै पहिलो पटक विश्वकप खेल्ने यात्रामा महत्वपूर्ण पाइला चालेको छ। समूह ‘एल’ मा तेस्रो स्थानमा रहेको फारोइ आइल्यान्ड दोस्रो स्थानमा रहेको चेक गणतन्त्रसँग केवल एक अङ्कले पछि छ। यस समूहको शीर्ष स्थान क्रोएसियाले कब्जा गरेको छ, जसले जिब्रालटारलाई ३–० ले हरायो।
अन्य युरोपेली समूहका परिणाम
समूह ‘जी’: नेदरल्यान्ड्सले फिनल्यान्डलाई ४–० ले हरायो। मेम्पिस डिपेले पेनाल्टीबाट गोल गर्दै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या ५४ पु¥याए। डोनिल मालेन, भर्जिल भान डिक र कोडी गाप्कोले पनि गोल गरे। दुई खेल बाँकी रहँदा नेदरल्यान्ड्स शीर्ष स्थानमा छ, पोल्यान्ड तीन अङ्कले पछाडि छ। पोल्यान्डले लिथुवानियालाई २–० ले पराजित गर्यो; गोल गर्नेमा सेवेस्टियन समान्स्की र रोवर्ट लेवानडोस्की थिए।
समूह ‘सी’: डेनमार्कले ग्रिसलाई ३–१ र स्कटल्यान्डले बेलारुसलाई २–१ ले पराजित गरे। दुवै टोलीसँग समान १०–१० अङ्क भए तापनि गोल अन्तरले डेनमार्क अगाडि छ।