राष्ट्रिय प्रतियोगितामा स्थानान्तरणका लागि अब फुकुवा पत्र अनिवार्य : क्यान

काठमाडौं, असोज २७ गते।
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन अन्य प्रदेश वा विभागीय टिममा स्थानान्तरण गर्न चाहने खेलाडीका लागि अबदेखि फुकुवा पत्र अनिवार्य हुने जनाएको छ।

क्यानले सोमबार जारी गरेको विज्ञप्तिमा भनेको छ — संघको वार्षिक कार्ययोजना अनुसार यो वर्षदेखि हुने सबै राष्ट्रिय प्रतियोगितामा खेलाडीले प्रदेश वा विभागीय टिम परिवर्तन गर्न आफू आबद्ध जिल्ला संघबाट फुकुवा पत्र लिनुपर्ने व्यवस्था लागू गरिएको हो।

विज्ञप्तिमा भनिएको छ,

“संघको वार्षिक कार्यक्रम अनुसार हुने विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा विभिन्न प्रदेश टिमबाट सहभागिता जनाइरहेका खेलाडीले यस आर्थिक वर्षमा संचालन हुने राष्ट्रिय प्रतियोगिताहरूमा अन्य प्रदेशको टिम वा विभागीय टोलीमा स्थानान्तरण हुन चाहेमा यही कार्तिक १० गतेभित्र यसअघि आबद्ध जिल्ला क्रिकेट संघबाट फुकुवा पत्र लिएर सम्बन्धित प्रादेशिक क्रिकेट संघको स्वीकृति पत्रसहित आफू स्थानान्तरण हुन लागेको टिममा अनिवार्य रूपमा संघमा पेश गर्नुपर्नेछ।”

यस निर्णयसँगै अब कुनै पनि खेलाडीले आफ्नो पहिल्यैको टिम छोडी अर्को प्रदेश वा विभागीय टोलीमा जाने चाहना व्यक्त गरे पनि औपचारिक फुकुवा र स्वीकृति प्रक्रिया पूरा नगरी खेल्ने अनुमति नहुने क्यानले स्पष्ट गरेको छ।

क्यानले यो निर्णयले खेलाडी आवतजावतमा पारदर्शिता ल्याउने, व्यवस्थापन सहज बनाउने र राष्ट्रिय प्रतियोगितामा निष्पक्षता सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ।

त्यसैगरी, क्यानले सबै प्रादेशिक क्रिकेट संघहरूलाई यो जानकारी सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत सरोकारवालासमक्ष पुर्‍याउन आग्रह गरेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ