
काठमाडौं, असोज २४ गते ।
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक (EAP) छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेको छ । समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले पराजित गर्दै नेपाल सुपर सिक्स चरणमा प्रवेश गरेको हो।

यो जितसँगै नेपालले समूह चरणमा लगातार दोस्रो विजय हात पार्दै दुई अंकका साथ शीर्ष स्थानमा रहँदै सुपर सिक्समा स्थान सुनिश्चित गर्यो। जापान समूह उपविजेता बनेर अर्को चरणमा पुगेको छ।
जापानको मध्यम लक्ष्य नेपालले सजिलै भेट्टायो
पहिले ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रनको मध्यम योगफल बनायो। जवाफी रूपमा नेपालले निर्धारित १८ ओभरमै पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालका ओपनर आशिफ शेख उत्कृष्ट फर्ममा देखिए। उनले २१ बलमा १ छक्का र ४ छक्कासहित ३८ रनको आक्रामक पारी खेले। यस्तै, अलराउण्डर गुल्सन झाले २८ रन जोडे भने कुशल भुर्तेलले २१ रन, कप्तान रोहित पौडेलले १८ रन र दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान गरे।
बलिङतर्फ जापानका शोमा स्लेटरले दुई विकेट लिए भने रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एक–एक विकेट हात पारे।
जापानका कप्तानको अर्धशतक, तर सहयोगी पारीको अभाव
जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले जिम्मेवारीपूर्ण अर्धशतक खेले। उनले ४६ बलमा ६ चौका र १ छक्कासहित ६० रनको उत्कृष्ट पारी खेल्दै टिमलाई सम्मानजनक स्कोरमा पुर्याए।
उनलाई इसम रहमानले साथ दिँदै २५ बलमा ३१ रन थपे। तर, टप अर्डरपछि जापानका ब्याटरहरू नेपाली बलरसामु टिक्न सकेनन्।
सन्दीप र गुल्सन चम्किए, ऐरीको कसिलो बलिङ
नेपालका बलरहरूले सानदार प्रदर्शन गरे। सन्दीप लामिछाने र गुल्सन झाले दुई–दुई विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट लिए।
दीपेन्द्रसिंह ऐरीले तीन ओभरमा मात्र १५ रन खर्चिँदै अत्यन्तै कसिलो बलिङ गरे।
गुल्सन झा ‘प्लेयर अफ द म्याच’ घोषित
व्याट र बल दुबैमा उत्कृष्ट प्रदर्शन गरेका गुल्सन झा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले २८ रन बनाउनुका साथै बलिङमा दुई विकेट पनि हात पारे।

नेपालले अब सुपर सिक्स चरणको पहिलो खेल समूह ‘ए’को विजेता संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध आइतबार खेल्नेछ। यो खेलले नेपालको विश्वकप यात्रामा महत्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।
