
काठमाडौं ,असोज २४ गते ।
मलेसियासँगको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय (T20I) शृंखला जित्दै नेपाली महिला राष्ट्रिय क्रिकेट टोली बिहीबार राति स्वदेश फर्किएको छ। निर्णायक पाँचौं खेलमा ५ विकेटको रोमाञ्चक जित निकाल्दै नेपालले शृंखला ३–२ ले आफ्नो पक्षमा पारेको हो।

बुधबार बिहान सम्पन्न अन्तिम खेलमा नेपालले मलेसियालाई सानदार प्रदर्शनसहित पराजित गर्दै सम्पूर्ण शृंखलामा उत्कृष्ट पुनरागमन गरेको देखिएको थियो।
नेपालले शृंखलाको सुरुवाती खेलमा मात्र ३ रनले पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा ६ विकेटको सहज जित दर्ता गराएको थियो। तेस्रो खेलमा १३ रनले हार खेप्नुपरे पनि चौथो खेलमा फेरि ६ विकेटको जीत निकाल्दै निर्णायक खेलमा प्रवेश गरेको थियो।
सुपर वुमन सिरिजमार्फत तयारी, कप्तान–उपकप्तन दुवै उत्साहित
यस शृंखलाअघि नेपाली महिला टोलीले मलेसियामै सम्पन्न ‘सुपर वुमन सिरिज’ मा सहभागिता जनाएको थियो, जहाँ टोलीका सबै खेलाडीले पाँच फरक–फरक टिमबाट खेल्ने अवसर पाए। कप्तान इन्दु बर्मा ले शृंखलाको जितलाई सकारात्मक रुपमा लिँदै भनिन्,
“हामीले पाँचै खेल जित्न सकेको भए अझ राम्रो हुन्थ्यो, तर शृंखला जित्नु नै ठूलो उपलब्धि हो। यसले आगामी चुनौतीका लागि हाम्रो आत्मविश्वास बढाएको छ।”
उपकप्तान पूजा महतो ले विदेशी भूमिमा खेलेको अनुभव सबै खेलाडीका लागि उपयोगी भएको बताउँदै भनिन्,
“बाहिर गएर खेल्दा प्रदर्शनमा निखार आउँछ। जुनियर खेलाडीहरूका लागि यो ठूलो अवसर हो र यसले उनीहरूको भविष्यमा नेपालको लागि खेल्ने सम्भावना बढाएको छ। यो आत्मविश्वासले ग्लोबल छनोटमा फाइदा पुग्नेछ।”
पहिलोपटक ग्लोबल छनोटमा, लक्ष्य–टी–२० विश्वकप
नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक आईसीसी महिला टी-२० विश्वकपको एसिया छनोट पार गरेर ग्लोबल छनोटमा स्थान बनाएको छ। आउँदो सन् २०२६ को जनवरीमा नेपालमै हुने उक्त ग्लोबल छनोटमार्फत नेपालले पहिलोपटक टी-२० विश्वकपमा सहभागी हुने ऐतिहासिक अवसरसमेत पाउनेछ।
महिला क्रिकेटको क्षेत्रमा नेपालले पछिल्लो समय देखाएको निरन्तर सुधार र अन्तर्राष्ट्रिय स्तरमा मिलेको सफलता खेलको विकासका लागि सकारात्मक संकेत हो। मलेसिया भ्रमण र शृंखलाबाट प्राप्त अनुभवले नेपालको महिला क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
