
काठमाडौं, असोज २२ गते ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले आफ्नो पक्षमा पार्दै पुनः एक पटक आफ्नो उत्कृष्ट प्रदर्शनको प्रमाण दिएको छ। बुधबार सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला कब्जा गरेको हो।

यस जितसँगै नेपालले २०२३ को मलेसिया भ्रमणको नतिजा दोहोर्याएको छ, जहाँ नेपाली टोलीले मलेसियासँगको त्यतिबेलाको शृंखलामा पनि ३–२ को जीत दर्ता गराएको थियो।
निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन
बुधबारको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रन (४६ बलमा) बनाउँदै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरमा पु¥याइन्। माहिराहले १९ रन र ऐइना हमिजाह हासिमले १५ रनको योगदान दिइन्।
नेपालका लागि बलिङतर्फ कविता कुँवर सबैभन्दा प्रभावशाली रहिन्। उनले अन्तिम ओभरमा लगातार तीन विकेट लिँदै खेलको परिवर्तन गरिन्। उनले ४ ओभरमा १६ रन खर्चिन्। राजमती ऐरीले पनि ३ ओभरमा १५ रन दिँदै २ विकेट झारिन् भने रचना चौधरीले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिइन्।
शान्त रुपमा लक्ष्य हासिल गर्दै श्रृंखला कब्जा
नेपालले १०४ रनको लक्ष्य १८ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो। उपकप्तान पूजा महतोले २४ बलमा २३ रन बनाउँदै पारीलाई सन्तुलनमा राखिन्। अन्त्यतिर नेपाललाई विजयका लागि २ रन आवश्यक हुँदा उनी नुर आल्याको बलमा बोल्ड भइन्। त्यसपछि अनुभव बोकेको पूर्व कप्तान रुविना क्षेत्री (१५ रन) र कविता जोशी (१ रन) ले टोलीलाई सुरक्षित रुपमा जितको बाँकी यात्रा पार गराए।
यसअघि सम्झना खड्काले ११, रुबि पोदारले २५ बलमा २६, कविता कुँवरले १९ बलमा १४ र इन्दु बर्माले १३ बलमा ८ रन बनाएकी थिइन्।
मलेसियातर्फ आल्या, माहिराह र हासिमले समान १–१ विकेट लिएका थिए।
निरन्तर सफलता र आत्मविश्वास

यो जितले नेपाली महिला टोलीको निरन्तर प्रगति र सामूहिक प्रयासको झल्को दिएको छ। कप्तान रुबिना क्षेत्रीको अनुभव, कविता कुँवरको बलिङमा धार, र युवा खेलाडीहरूको योगदानले टोलीलाई अझ बलियो बनाउँदै लगेको छ।
अब नेपाली टोलीले आगामी प्रतियोगिताहरूमा यो आत्मविश्वासलाई उपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।
