एरिका गुरुङलाई अन्तर्राष्ट्रिय करातेमा अर्को ऐतिहासिक सफलता, मलेसियामा ‘कराते वान सिरिज ए’ को स्वर्ण पदक जित

काठमाडौं, असोज १९ गते — नेपाली कराते खेलमा चम्किलो नाम बनिसकेकी एरिका गुरुङले आफ्नो करियरमा अर्को ठूलो सफलता जोड्दै मलेसियामा जारी ‘कराते वान सिरिज ए’ प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।

६८ केजीमाथिको तौल वर्गमा प्रतिस्पर्धा गर्दै एरिकाले उत्कृष्ट प्रदर्शनमार्फत पहिलो स्थान हासिल गरेकी हुन्। शुक्रबार सम्पन्न फाइनल खेलमा उनले तेस्मिन मास्क्नीलाई २–० ले पराजित गर्दै स्वर्ण पदक आफ्नो नाममा गरेकी हुन्।

उनको विजयी यात्रा सुरु भएको थियो प्रि–क्वार्टरफाइनलबाट, जहाँ उनले पोर्चुगलकी लोरेन्जो हेलेनालाई ८–० ले हराइन्। त्यसपछि क्वार्टरफाइनलमा जर्मनीकी रोहलमान चार्लोटमाथि ४–० को सहज जित हात पारिन्। सेमिफाइनलमा उनले चेक गणतन्त्रकी हकोभा अमाल्जीलाई ७–० को एकतर्फी अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन्।

एरिका गुरुङ नेपाली कराते इतिहासमै सबैभन्दा सफल खेलाडीका रूपमा चिनिन्छिन्। उनले यसअघि १९औं एसियाली खेलकुद (एशियन गेम्स) र २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा रजत पदक जित्दै राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन्। त्यस्तै, उनले विश्व प्रसिद्ध कराते–१ प्रिमियर लिगमा पनि कास्य पदक जितेकी थिइन्।

आजको स्वर्णपदकसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय करियरलाई अझ उज्यालो बनाउँदै, नेपाललाई पुनः एकपटक विश्वमञ्चमा गौरवान्वित पारेकी छिन्।

उनको यो निरन्तर सफलता र उच्च स्तरको प्रदर्शनले नेपाली महिला खेलाडीहरूको प्रेरणा स्रोत बनिरहेको छ। खेलप्रेमीहरू, प्रशिक्षक वर्ग र खेल प्रशासनले एरिकाको यस ऐतिहासिक उपलब्धिको उच्च मूल्यांकन गरिरहेका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ