
काठमाडौं, असोज १५ गते ।
अल्माटी (काजकिस्तान) नेपाल बुद्धिचाल महासंघ (NCF) र काजकिस्तान चेस फेडेरेसनबीच आपसी सहकार्य, मैत्रीपूर्ण सम्बन्ध सुदृढीकरण तथा चेस खेलको दीर्घकालीन विकासलाई लक्षित गर्दै पाँच वर्षे समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिएको छ।

सो ऐतिहासिक समझदारीपत्रमा काजकिस्तान चेस फेडेरेसनकी कार्यकारी निर्देशक गुलमिरा डाउलेटोभा र नेपाल बुद्धिचाल महासंघका महासचिव धरम बहादुर लामाले हस्ताक्षर गरेका हुन्।

समझदारीपत्रअनुसार दुवै मुलुकबीच नियमित भ्रमण कार्यक्रम सञ्चालन हुनेछन्। यस अन्तर्गत खेलाडी, प्रशिक्षक तथा प्रतिनिधिहरूको आदानप्रदान हुने र संयुक्त चेस प्रशिक्षण शिविर, कार्यशाला, गोष्ठी तथा प्रतियोगिता आयोजना गर्ने व्यवस्था गरिएको छ। यसले दुवै मुलुकका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

त्यसैगरी, चेस खेलसँग सम्बन्धित प्राविधिक जनशक्ति तथा प्रतिनिधिलाई व्यवसायिक तालिम उपलब्ध गराउने, स्रोत व्यवस्थापन र शैक्षिक कार्यक्रम अन्तर्गत अनुभव साटासाट गर्ने सहमति पनि भएको छ। समझदारीपत्र कार्यान्वयनका लागि दुवै पक्षले संयोजक तोक्ने र प्रत्येक वर्ष प्रगतिको मूल्याङ्कन गर्दै आगामी कार्ययोजना तय गर्ने प्रावधान समेत राखिएको छ।
संयुक्त गतिविधि हुने समयमा लाग्ने यातायात, आवास तथा खानापिन खर्च सम्बन्धित फेडेरेसनले व्यहोर्ने व्यवस्था गरिएको छ भने प्रायोजन र स्रोत व्यवस्थापनमा दुवै पक्षको सक्रियता रहनेछ।
यो समझदारीपत्र पाँच वर्षसम्म लागू हुनेछ। आपसी सहमतिमा अवधि थप गर्न सकिने प्रावधान राखिएको छ भने आवश्यक परेमा कम्तीमा छ महिना अघिको लिखित जानकारीसहित सम्झौता भंग गर्न सकिने व्यवस्था पनि छ।
नेपाल र काजकिस्तानबीच भएको यो सम्झौताले दुई मुलुकका बीच चेस खेलमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुवै देशका खेलाडीको उज्ज्वल भविष्य निर्माणमा मीलका पत्थर साबित हुने अपेक्षा गरिएको छ।
