
काठमाडौं, असोज १२ गते ।
नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई हिजो शनिबार सम्मान गरेको छ ।
विजयीदशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा अधिकांश फुल कन्ट्याक्ट करातेका खेलाडी हुन् ।
सम्मानित हुनेमा अजरवैजानको बाकुमा भएको विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपका पदक विजेता सागर विष्ट, बविता कार्की, रोचक भारती, पूजा खड्का र सुदर्शन खतिवडा रहेका छन् । बविता, रोचक र पूजाले किक बक्सिङ र फुल कन्ट्याक्ट विधामा स्वर्ण, सागरले किक बक्सिङमा स्वर्ण फुल कन्ट्याक्टमा रजत तथा सुदर्शनले किक बक्सिङमा रजत फुल कन्ट्याक्टमा स्वर्ण हात पारेका थिए । सोही प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेकी करुणा राउत क्षेत्रीलाई पनि सम्मान गरियो ।
श्रीलंकामा भएको दक्षिण एसियाली फुल कन्ट्याक्ट कराते प्रतियोगिताको खुला तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएका सनि सिंह, जापानमा भएको तेजुका कप फुल कन्ट्याक्ट कराते प्रतियोगिताको एकल कातामा कांस्य विजेता दावा शेर्पा र थाइल्यान्डमा भएको १२ औं विश्व स्ट्रेन्टलिफ्टिङ तथा इन्क्लान बेन्च प्रेसको पुरुष ५० वर्षमाथि ७६ केजीमा स्वर्ण जितेका केदारमान स्थापित पनि सम्मानित भए ।
नेपाल फुल कन्ट्याक्ट कराते महासंघका नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर बुढाथोकीलाई पनि सम्मान गरियो । उनीहरुलाई नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का अध्यक्ष जगतप्रसाद गौचन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी र नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघका अध्यक्ष वीरकृष्ण महर्जनले एक कार्यक्रमबीच सम्मान गरे ।
सो अवसरमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघ महासंघका कोषाध्यक्ष समेत रहेका महर्जनले तिहारपछि महासंघले आकर्षक पुरस्कार राशीको प्रेसिडेन्ट कप फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना गर्ने जानकारी दिए ।
महासंघका अध्यक्ष बुढाथोकीले फुल कन्ट्याक्ट करातेलाई राष्ट्रपति रनिङ सिल्डमा समावेश गर्न महासंघले पहल गर्ने प्रतिबद्धता जनाए ।
