नवीन न्यौपाने राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं, असोज ९ गते।


काठमाडौं – हालै मात्र राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण सम्हालेका नवीन न्यौपानेलाई अब अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ।

एन्फाका महासचिव किरण राईले बिहीबार एन्फा कम्प्लेक्समा विशेष कार्यक्रमबीच न्यौपानेलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। उनी सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्म महिला टोलीका प्रमुख प्रशिक्षक रहनेछन्।

यसअघि एन्फाको युवा परियोजनाका प्रमुखका रूपमा काम गरेका न्यौपाने गत महिना सम्पन्न यु–२३ पुरुष टोलीका मुख्य प्रशिक्षकसमेत रहेका थिए। फुटबल क्षेत्रमा लामो समयदेखि सक्रिय न्यौपानेलाई एन्फाले घरेलु प्रशिक्षकलाई अवसर दिने रणनीतिअन्तर्गत महत्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।

महिला राष्ट्रिय टोलीमा भगवती खत्री र राजकुमार केसी सहायक प्रशिक्षकका रूपमा कार्य गर्नेछन्। त्यस्तै, बिन्द्रा देवान टिम म्यानेजर, शिला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको भूमिकामा निरन्तर रहने भएका छन्।

यसअघि नेपाली महिला टोलीको नेतृत्व विदेशी प्रशिक्षक प्याट्रिक डि वाइल्डले गरेका थिए। उनले एएफसी महिला एसियन कप छनोटमा टोली सम्हालेका थिए। तर उक्त छनोट विवादस्पद बनेपछि प्याट्रिकले पदबाट राजीनामा दिएका थिए। त्यसयता एन्फाले कुनै आधिकारिक टिप्पणी नगरे पनि नयाँ नेतृत्व आवश्यक ठानेर घरेलु प्रशिक्षकलाई जिम्मेवारी दिएको हो।

नवीन न्यौपानेको नियुक्तिसँगै नेपाली महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ