
काठमाडौं, असोज ८ गते।
नेपाली भलिबललाई तीन दशकभन्दा लामो समय योगदान पुर्याएका मुख्य प्रशिक्षक जगदिश भट्टले अब प्रशिक्षण लगायत भलिबलको कुनै पनि गतिविधिमा सक्रिय रुपमा संलग्न नहुने घोषणा गरेका छन्।
भट्टले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफूले पेशा र राष्ट्रको खातिर पटक–पटक अवहेलना सहँदै निरन्तर काम गरे पनि अब त्यस्तो अवस्था नरहेको भन्दै आगामी दिनमा प्रशिक्षण गतिविधिबाट ‘ब्रेक’ लिन लागेको जनाएका हुन्।
उनले लेखेका छन्, “पेशा र राष्ट्रका खातिर पटक–पटक अवहेलना सहँदै ‘थोरै भए पनि केही गरौँ’ भन्ने सोचका साथ लागेको थिएँ। तर अब त्यो अवस्था रहेन। त्यसैले आगामी दिनमा राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमबाहेक—त्यो पनि जागिरमै रहेसम्म—मात्र संलग्न रहनेछु। अन्यथा, काम गर्न नसकिने अवस्थामा बसिरहनु भन्दा बाहिरबाटै भलिबल खेललाई सहयोग गर्ने बाटो रोज्नेछु। यसबाहेक अन्य कुनै गतिविधि (छनोट वा सहभागीता)मा संलग्न नहुने निर्णय लिएको छु भन्ने कुरा यहाँहरूलाई अवगत गराउन चाहन्छु।”
भट्टको यो निर्णय हालैको पुरुष भलिबल टिममा खेलाडी छनोटसम्बन्धी विवादसँग जोडिएको देखिन्छ। अहिले नेपालका तीन फरक टिम अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा व्यस्त रहेका छन्, जसमा भट्ट अघिसम्म प्रशिक्षणमा सक्रिय देखिएका थिए।
संघको प्रतिक्रिया
नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले भट्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत मुख्य प्रशिक्षक भएकाले सञ्चारमाध्यममा दिएको टिप्पणी व्यक्तिगत मानिने बताए। उनले भने, “तीन जना सम्मिलित छनोट समितिको सिफारिसमा खेलाडी छनोट गरिएको हो। हाम्रो प्राथमिकता अहिले काभा नेसन्स लिगमा मेडल जित्ने हो, त्यसका लागि सबैले सहयोग गर्नुपर्छ।”
यद्यपि, उनले प्रशिक्षक भट्टको फेसबुक स्ट्याटस भने नहेरेको बताए।
भट्टको योगदान
जगदिश भट्ट नेपाली भलिबल इतिहासकै सफल प्रशिक्षक मानिन्छन्। उनको प्रशिक्षणमा नेपाली महिला टोलीले एभिसी सेन्ट्रल जोनमा दुई पटक उपाधि जितेको थियो। त्यस्तै, १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक कांस्य पदक जितेको थियो।
हाल भट्ट राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत भलिबलको मुख्य प्रशिक्षक हुनुका साथै तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशक पनि छन्। उनले आफूले पेशालाई राष्ट्रिय धर्म सम्झेर तीन दशकदेखि नेपाली भलिबलको विकासमा योगदान गरेको स्मरण गरेका छन्।
