
काठमाडौं, असोज ८ गते।

स्पेनिस ला लिगामा रियल म्याड्रिडले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ। मंगलबार राति भएको खेलमा रियलले लेभान्टेलाई सहज रूपमा ४–१ गोलले पराजित गर्दै लगातार छैटौं जित दर्ता गर्यो।
खेलमा रियलका स्टार स्ट्राइकर केयलिन एमबाप्पेले दुई सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाए। साथै, युवा फर्वर्ड भिनिसियस जुनियर र उदाउँदो प्रतिभा फ्रान्को मास्टानटुनोले पनि गोल गर्दै टोलीको जितलाई सहज बनाए।
लेभान्टेका लागि भने इटा इयोङले एक गोल फर्काएका थिए। तर उनको प्रयास टोलीलाई पराजयबाट जोगाउन पर्याप्त भएन। यस जितसँगै रियलले लिग तालिकामा १८ अंक जोडेको छ र शीर्ष स्थानमा मजबुत बनेको छ।
हारसँगै गेटाफे ९ अंकमा झरेर आठौं स्थानमा पुगेको छ।
यसैबीच मंगलबार भएको अर्को खेलमा भिल्लारियलले सेभियालाई २–१ गोलले पराजित गर्यो। खेलको निर्णायक गोल मानोर सोलोमनले ८६औं मिनेटमा गर्दै टोलीलाई मूल्यवान तीन अंक दिलाए।
यो नतिजासँगै भिल्लारियल १३ अंकसहित लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया ७ अंकमा सीमित रहँदै दशौं स्थानमा छ।
ला लिगामा रियल म्याड्रिडले देखाएको उत्कृष्ट सुरुवातले यस सिजन पनि उपाधि दावेदारको हैसियतलाई अझै प्रष्ट पारेको छ।
