फुलकन्ट्याक्ट करातेमा बुढाथोकी नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

काठमाडौं, असोज ५ गते ।
नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। कीर्तिपुरमा शनिबार सम्पन्न साधारण सभाले सूर्यबहादुर बुढाथोकीलाई अध्यक्ष चयन गर्दै २२ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरेको हो।

निर्वाचन प्रक्रियामा कुनै प्रतिस्पर्धा नभएकाले सम्पूर्ण पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन्। नयाँ कार्यसमितिमा प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष बनेका छन् भने राजु तुलाधर, धनबहादुर तामाङ र नन्दाकुमार किराती उपाध्यक्षका रूपमा चयन भए। त्यस्तै, महासचिवमा प्रेमनाथ श्रेष्ठ, सचिवमा राजीव खड्का र कोषाध्यक्षमा वीरकृष्ण महर्जन जिम्मेवारी पाएका छन्।

सदस्य पदमा अमिर ओड, कमला घर्ती, याङशु श्रेष्ठ, जगतबहादुर धामी, पवन मगर, हितबहादुर मोक्तान, अनिल श्रेष्ठ, सूर्यकुमार कार्की, वीरेन्द्र चन्द, विवेककुमार दाहाल, रामहरि खड्का, हर्कबहादुर तामाङ र सागर विष्ट चयन भए।

साधारण सभापछि बसेको पहिलो कार्यसमिति बैठकले थप मनोनयनसमेत गरेको छ। बैठकले कल्पना आचार्य, रमेश तामाङ र मिनबहादुर शाहीलाई उपाध्यक्षमा मनोनित गरेको छ भने गौतम शाह र शक्ति जमुना शाहलाई सदस्यमा मनोनयन गरेको हो।

नवनिर्वाचित पदाधिकारीलाई एक औपचारिक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य जगतसिंह धामी, प्रमुख निर्वाचन अधिकृत एवं खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेललगायतले प्रमाणपत्र प्रदान गरेका थिए। सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले साधारण सभाको उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले नयाँ नेतृत्वबाट फुलकन्ट्याक्ट कराते खेलको संस्थागत विकास, खेलाडीहरूको स्तरवृद्धि र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता बढाउने अपेक्षा व्यक्त गरे। उनीहरूले कराते खेललाई ग्रामीणस्तरसम्म विस्तार गर्न, खेलाडीको जीवनस्तर उकास्न र खेलमैत्री वातावरण निर्माण गर्न महासंघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरे।

सूर्यबहादुर बुढाथोकी नेतृत्वको नयाँ कार्यसमिति आगामी चार वर्षका लागि महासंघको जिम्मेवारी सम्हाल्नेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ